२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

अर्घाखाँचीमा कार्यालय र विद्यालय सुचारु, कारागार क्षेत्रमा निषेधाज्ञा कायमै

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ भदौ २९ गते २०:५०
अर्घाखाँचीमा कार्यालय र विद्यालय सुचारु, कारागार क्षेत्रमा निषेधाज्ञा कायमै

अर्घाखाँची : जेन–जेड समूहको आन्दोलनका कारण अस्तव्यस्त बनेको अर्घाखाँची जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । गत भदौ २३ र २४ गतेको घटनापछि ठप्पजस्तै बनेको सरकारी सेवा र विद्यालयको पठनपाठन आइतबारदेखि सुचारु भएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालका अनुसार आन्दोलनका कारण प्रभावित सरकारी कार्यालयहरूले नियमित सेवा प्रवाह फेरि सुरु गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले समेत आइतबारदेखि जिल्लाका सबै सरकारी कार्यालय खुलेर सेवा प्रवाह भइरहेको जानकारी दिए । आन्दोलनका क्रममा सन्धिखर्क–२ वडाको कार्यालयमा आगजनी भए पनि अन्य कार्यालयमा ठूलो क्षति नभएको उनले बताए ।

यस्तै, बन्द रहेका सरकारी तथा निजी विद्यालय पनि सञ्चालनमा आएका छन् । जिल्लाका छवटै स्थानीय तहमा पठनपाठन सुरु भएको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । विद्यालयमा सरसफाई कार्य सम्पन्न गरी कक्षाकोठा सञ्चालनमा ल्याइएको र खानेपानीको ट्यांकीमा क्लोरिन प्रयोग गर्न समेत निर्देशन दिइएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि अधिकांश क्षेत्रमा निषेधाज्ञा हटाए पनि कारागार क्षेत्रमा भने रातको समयमा निषेधाज्ञा कायम राखिएको छ । उता, बजार क्षेत्रमा पनि सामान्य चहलपहल बढ्दै गएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्रले बताए ।

आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका दलका कार्यालयमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् । कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठका अनुसार पार्टी कार्यालय सफा गरी आवश्यक सेवा सुरु गरिएको छ । एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले आगजनीमा कार्यालयका कागजात, ल्यापटप, कम्प्युटर, दराज, कुर्सी, टेबल सबै जलेर नष्ट भएको जानकारी दिए ।

सन्धिखर्कमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा समेत आन्दोलनकारीले तोडफोडपछि आगजनी गरेका थिए । अढाई तले घरभित्रका सबै सामान जलेर नष्ट भएको मुख्यमन्त्रीका भाइ खुवीराम आचार्यले बताए । दलका कार्यालय र सरकारी कार्यालयमा भएको तोडफोड तथा आगजनीमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise