काठमाडौंः पहिलो महिला प्रधानन्यायाधीश र प्रधानमन्त्रीको इतिहास रचेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको जन्म २००९ साल जेठ २५ मा विराटनगरमा भएको हो । दशकअघि करिब ११ महिना प्रधानन्यायाधीश बनेकी उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट बिए र वनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी छिन् ।
२०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट बिएल गरेपछि उनी निरन्तर कानुन व्यवसायमा रहिन् । त्यसअघि नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघकी नेतृ थिइन् । उनका पति दुर्गा सुवेदी पञ्चायतकालमा कांग्रेसले गरेको विमान अपहरणमा संलग्न नेता हुन् ।
२०३५ सालदेखि वकालत सुरु गरेपछि भने उनी प्रत्यक्ष राजनीतिमा फर्किइनन्, भलै सर्वोच्चमा उनको नियुक्तिमा राजनीतिक पृष्ठभूमिले सहयोग पुगेको थियो । प्रधानन्यायाधीश हुँदा कांग्रेस–माओवादी केन्द्रलगायतको गठबन्धनले उनीविरुद्ध महाभियोगसमेत लगाएको थियो ।
कार्कीले केही समय महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरेकी थिइन् । २०४५ सालमा कोशी अञ्चल बार अध्यक्ष बनेकी उनी २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्षसमेत भइन् । २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ माघ ९ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी थिइन् । २०६७ मंसिर २ मा सर्वोच्चको स्थायी न्यायाधीश बनेकी उनी २०७३ असारमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी हुन् ।
कार्की सरल जीवनशैली र निष्पक्षता, न्यायिक क्षेत्रमा स्वच्छ छवि राखेकी न्यायाधीशमा पर्छिन् । भ्रष्टाचारविरुद्ध प्रस्ट दृष्टिकोणका कारणले पनि जेनजी समूहहरूको रोजाइमा उनी परेको बताइन्छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई अयोग्य भन्दै नियुक्ति बदर गर्ने फैसला उनकै इजलासले गरेको थियो । त्यस्तै, बहालवाला मन्त्री जेपी गुप्तालाई भ्रष्टाचार ठहर गरेकी थिइन् ।