२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

संविधानबाटै निकास खोज्ने प्रयास

shivam cement
जीवन शर्मा
२०८२ भदौ २७ गते ०६:२५
संविधानबाटै निकास खोज्ने प्रयास

काठमाडौं : मुलुकलाई वर्तमान संकटपूर्ण अवस्थाबाट निकास दिनका लागि संवैधानिक व्यवस्थाबाटै उपाय खोज्ने प्रयास भइरहेको छ । जेनजीका नाममा भदौ २३ र २४ मा भएको आन्दोलनबाट कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेत कब्जा र आगाजनी भएपछिसँगै मुलुकमा राजनीतिक र संवैधानिक संकटमा परेको छ । 

भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताजस्ता उचित मागसहित सुरु भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठले हुँदा आन्दोलन हिंसात्मक बनेको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्ता ढालेको युवापुस्ताको आन्दोलनमा ३४ युवाहरूले ज्यान गुमाएका छन् । प्रहरीले अन्दाधुन्ध गोली चलाउँदा २३ गते बानेश्वरमा १७ र विराटनगरमा २ गरी १९ जनाको मृत्यु भएको थियो । त्यसको झिल्कोले २४ गते सिंगो देशको शासन कब्जासँगै संरचना ध्वस्त भयो । 

प्रधानमन्त्री, मन्त्रीहरू सबै दलका शीर्ष नेताहरूको भागाभाग भएका थिए भने नेताहरूका दर्जन बढी घरमा आगो लगाइएको छ । सिंहदरबार, अदालत, राष्ट्रपति कार्यालयसहित सार्वजनिक सम्पत्ति पूर्णरूपमा ध्वस्त भएका छन् । राजनीतिक दलका नेता लुकेर बस्नुपरेको छ । युवाहरूको आन्दोलन एकाएक हिंस्रक बनेपछि उत्पन्न देशको यो विषम परिस्थितिलाई सम्हाल्नुपर्ने दायित्व यतिबेला नेपाली सेनाको हातमा पुगेको छ । सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई आवश्यक सहजीकरण गर्दै संवैधानिक व्यवस्थाअनुसार नै आगामी अन्तरिम सरकार निर्माणमा भूमिका खेल्नुपर्ने नेपाली सेनाले जेनजीका प्रतिनिधिसँग मंगलबारबाटै छलफल थाले पनि निष्कर्षमा  पुग्न सकेको छैन । सेनापति अशोकराज सिग्देलले संवादको विभिन्न प्रयासलाई जारी राखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले  संवैधानिक दायराभित्र रहेर समाधान खोज्ने काम भइरहेको वक्तव्य सार्वजनिक गरेका छन् । उनले मुलुकलाई वर्तमान संकटपूर्ण अवस्थाबाट निकास दिन र शान्ति–सुव्यवस्था कायम राख्न सबैलाई सहयोगी बन्न अपिल गरेका छन् । ‘देशको संवैधानिक दायराभित्र रहेर समाधान खोज्ने काम भइरहेको छ,’ उनले भनेका छन, ‘आन्दोलनरत नागरिकका माग सम्बोधन गर्दै लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्ने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको छ ।’ सबै पक्षलाई संयमतापूर्वक समस्या समाधानमा सहयोग उनले आग्रह गरेका छन् । 

तर आन्दोलनकारी जेनजी समूहमा एकअर्काप्रति विश्वासको स्थिति सिर्जना हुँदै जाँदा सैनिक जंगी अड्डामा छलफलका लागि कसलाई नेतृत्व गरेर पठाउने भन्नेसम्मको कुरा मिल्न सकेको छैन । कम्तीमा पाँचवटा समूह बनेको जेनजीभित्रै मारामारको अवस्था देखिएको आन्दोलनमा सहभागी युवाहरूले बताउने गरेका छन् । उनीहरू विभिन्न व्यक्तिका नाममा समूह बनाएर आगामी प्रधानमन्त्रीको प्रस्ताव लिएर हिँडेका छन् । यसलाई सेनाले स्वीकार गरेको अवस्था छैन ।  

एकाथरीले राज्य सत्ताले कब्जा गरिसकेकाले नयाँ सिराबाट अघि बढ्न संसद र संविधानसमेत नमान्ने बताइरहेका छन् भने अर्कोथरी युवाहरूले राज्य शून्यतामा पुगेकाले बाँकी रहेको संविधानबाटै राष्ट्रपतिमार्फत निकासका उपायहरू खोज्नुपर्ने पक्षमा छन् । संविधानविद भीमार्जुन आचार्य संविधानलाई टेकेर जाने कि नजाने भन्नेमा संवैधानिक जटिलता रहेको बताउँछन् । ‘संविधानलाई नटेकी जाने हो भने मुलुकले झन् ठुलो क्षति बेहोर्न सक्छ,’ उनले मध्यान्हसँग भने, ‘अहिलेको गम्भीर प्रश्न भनेको संविधानमा टेकेर जाने कि नजाने भन्नेमा हो । नटेक्दा झन् भयावह हुने अवस्था छ । मुलुक नियन्त्रणबाहिर जान सक्छ । देश नै नरहन पनि सक्छ ।’ संविधानमा टेकेर जाँदा प्रधानमन्त्री बन्न प्रतिनिधि सभाको सदस्य अनिवार्य हुनुपर्छ व्यवस्था रहेको उनले जटिलता देखाएका छन् । ‘संविधानअनुसार प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न पाउँदैन । संविधानअनुसार सर्वोच्च अदालतका न्यायाधीश वा प्रधानन्यायाधीश मानवअधिकार आयोगमा बाहेक कुनै पदमा नियुक्ति लिन पाइँदैन । त्यसकारण हामी यो द्विविधामा छौं ।’

जेनजी अभियान्ता हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नभई पुनर्लेखन गर्नुपर्ने माग जेन जीको रहेको बताए । पत्रकार सम्मेलनमार्फत उनले जेन–जेकीको भावना प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार बनाउनुपर्ने बताएका हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने योजान सुनाउँदै उनले भने, ‘पहिले महिला प्रधानमन्त्री नेपालीले इतिहास रच्ने हो । राम्रो व्यक्तिलाई मन्त्री बनाएर अन्तरिम सरकार बनाउने हो । संविधान चाहिन्छ तर संविधान संशोधन हुनुपर्छ ।’ तर कतिपयले जेनजीले आन्दोलनबाट ल्याएको परिवर्तनको नेतृत्व पनि युवापुस्ताबाटै हुनुपर्ने भन्दै यसको विरोध जनाएका छन् । यद्यपि, संविधानसंवत रूपमै जानुपर्ने विषयमा उनीहरू सकारात्मक देखिन्छन् । जेनजी’ आन्दोलनमा राज्यले गरेको बर्बर दमन र त्यसपछिको अराजकताको स्वतन्त्र छानबिन गर्न नागरिक समाजका अगुवाहरूले समेत माग गरेका छन् ।   

व्यवस्थाका पक्षमा युवा नेताको सक्रियता

मुलुकको परिस्थितिलाई सम्हाल्न संविधानकै जगमा रहेर निकास खोज्ने विषयमा राजनीतिक दलका युवा नेता एक ठाउँ उभिएका छन् । मुलुक गम्भीर संकटमा परेको परिस्थितिलाई सम्हाल्न जेजनीहरूकै मागअनुसार वर्तमान संविधानबाट समाधान नखोजिए भविष्यमा अझै ठुलो समस्या झेल्नुपर्ने उनीहरूको माग छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सोविता गौतम र शिशिर खनालले संयुक्त छलफल गरेका छन् ।  

‘यो संविधान बन्ने बाटो सजिलो थिएन, हामीले धेरै कुरा भोगेका छौं,’ गगन थापाले भनेका छन्, ‘हामीले गृहयुद्ध भोग्यौं । ठुलो जातीय युद्ध भोग्यौं । नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला थुप्रैका माग मुद्दामा सन्तुलन मिलाएर बनाएको संविधान हो यो । एउटा सन्तुलन खोजेर बनाइएको संविधान हो यो । आफ्ना अधिकार खोसियो भन्ने पर्‍यो भने फेरि सबैले बोल्ने अवस्था आउँछ । कसैले सम्हाल्न सक्दैनौं त्यसैले संविधानको निरन्तरताबारे तपाईंहरूले ख्याल गर्नैपर्छ ।’

त्यस्तै, नेकपा एसकी नेता रामकुमारी झाँक्रीले पनि व्यवस्था बचाएर समस्या समाधान खोजिनुपर्ने बताएकी छन् । व्यवस्था बचाएर मुलुकलाई संवैधानिकतवरबाटै निकास दिने विषयमा सांसदहरूले जेनजीलाई सम्बोधन गर्दै धमाधम विज्ञप्ति सार्वजनिक गरी सक्रियता बढेका हुन् । उनीहरूबीच संवैधानिक प्रक्रियाबाटै अहिलेको समस्याको निकास खोज्नुपर्नेमा मतऐक्यता छ । 

‘संवैधानिक बाटोभित्रबाट निकास खोज्नुपर्छ भन्ने हाम्रो कुराकानी भएको हो,’ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने । छलफलमा भदौ २३ र भदौ २४ को दुवै घटना छानबिन गर्नुपर्छ भन्नेमा सांसदहरू एक ठाउँमा रहेको उनले बताए । ‘सरकारबाट भएको अघिल्लो दिनको नरसंहार र भोलिपल्टको विध्वंस छानबिन गर्नुपर्छ भन्ने कुरामा सबैको एउटै धारणा रहेको छ,’ नेपाली कांग्रेसका सासद चन्द्र भण्डारीले भने, ‘जेनजीको माग सम्बोधन हुनेगरी संवैधानिकतवरबाटै अहिलेको मुलुकको समस्या समाधान खोजिनुपर्छ ।’ 

ADV

सम्बन्धित खबर

Advertise