काठमाडौँ : देशको राजनीतिक निकासका लागि वैकल्पिक नेतृत्वको माग गर्दै आएका जेनजी समूहले अन्तरिम सरकारको नेतृत्व नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई दिनुपर्ने निर्णय सार्वजनिक गरेको छ ।
जेनजी नेपालले जारी गरेको विज्ञप्तिअनुसार भ्रष्टाचार र बेथिति अन्त्य गर्दै सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलतामा पुग्न लागेको र यसको निष्कर्ष अन्तरिम मन्त्रिपरिषद् गठनसँगै देखिने जनाएको छ ।
अन्तरिम मन्त्रिपरिषद् नेतृत्वको दौडमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहलाई ‘योग्यतम’ मानिए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएकाले सम्भावना समाप्त भएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, हिजो सम्पन्न भर्चुअल छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र घिसिङको नाममा सकारात्मक बहस भएको जनाइएको छ ।
तर संविधानका प्रावधानअनुसार पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशलाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने, साथै उमेर हदका कारण कार्कीलाई अघि सार्न नमिल्ने भन्दै जेनजेड समूहले उनको नाम अस्वीकृत गरेको स्पष्ट गरेको छ । हर्क साम्पाङलाई सबैलाई नेतृत्व गर्ने सम्भावना कम भएको निष्कर्ष निकाल्दै अन्ततः लोडसेडिङमुक्त नेपाल बनाउन सफल, देशभक्त र लोकप्रिय व्यक्तित्व कुलमान घिसिङलाई नेतृत्वका लागि अघि सारिएको समूहले जनाएको छ ।
यसैबीच मुलुकको संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीच केहीबेरमा जंगी अड्डामा बैठक बस्ने तयारी भएको छ । मुलुकको राजनीतिक निकासबारे उच्च तहमा हुने भनिएको यो छलफललाई भने जेनजेड समूहले अस्वीकार गर्दै जंगी अड्डा परिसरमै नाराबाजी गरेको छ ।