नवलपरासी : पश्चिम नवलपरासीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश प्रशासनले खुकुलो बनाउँदै निषेधाज्ञामा रूपान्तरण गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर लागू कर्फ्यूलाई निषेधाज्ञामा परिणत गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको सूचनाअनुसार निषेधाज्ञा आज साँझ ६ बजेसम्म लागू रहनेछ । यसअन्तर्गत अत्यावश्यक सेवासम्बन्धी संस्था र पसल सञ्चालन गर्न पाइनेछ । साथै, अत्यावश्यक कामका लागि सवारी साधन चलाउन सकिने व्यवस्था गरिएको छ ।
प्रशासनले सबै सेवा प्रदायक र सेवा उपभोक्तालाई नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र सेवा सञ्चालन गर्न अनुरोध गरेको छ । यस कदमको उद्देश्य नागरिकको जनधन र सुरक्षा सुनिश्चित गर्नु रहेको छ ।
त्यसैगरी, आज साँझ ६ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु कायम रहने जनाइएको छ । प्रशासनले खुकुलो कर्फ्यू र निषेधाज्ञा लागू गरेर सुरक्षा र सामान्य जीवन दुवैलाई सन्तुलित बनाउन खोजेको जनाएको छ ।