२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

आयआर्जनले मधेशी महिलामा आयो परिवर्तन

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ २१ गते २०:५३
आयआर्जनले मधेशी महिलामा आयो परिवर्तन

रौतहट : मधेशको ग्रामीण भेगमा एक दशक अघिसम्म महिलाको परिचय घरधन्दा, भाँडाकुडा, बालबच्चाको हेरचाहमा  मात्र सीमित थियो । महिलाले आयआर्जन गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय मानिन्थ्यो । तर पछिल्ला वर्षहरुमा कार्यान्वयनमा आएका ‘लैंगिक हिंसा न्यूनीकरण परियोजना’हरुले महिलाको सोच, भूमिका र जीवनशैली नै बदल्न थालेको छ ।

रौतहटका राजपुर चन्द्रपुरका महिलाहरु आफ्नो जीवनशैली बदल्न थालेका हुन् । वडाहरुमा गठित स्वयम् सहायता समूहहरुमा आवद्ध महिलाहरुले आयआर्जनका गतिविधिहरु सञ्चालन गर्नुको साथै घरमा र घर बाहिर हुने लैंगिक हिंसा न्यूनीकरणका लागि अभियान समेत थालेका छन् । 

स्वयम् सहायता समूह गठन गरी स्थानीय महिलालाई आयआर्जनका लागि तालिम, सीप र सानो–ठुलो व्यवसाय सञ्चालनमा सहयोग गरिएको कार्यक्रम सञ्चालन गरिरहेका ग्रामीण विकास केन्द्र नेपालका जीविकोपार्जन अधिकृत प्रशान्त ढकालले बताए । ठेला, किराना पसल, सिलाइ–बुनाइ, पशुपालन, तरकारी खेती, तरकारी व्यापार, परम्परागत कस्मेटिक पसललगायतका क्रियाकलापमा सहभागी भइ महिलाहरुले परिवारको आय बढाउनुका साथै आफ्नो आत्मसम्मान पनि अभिवृद्धि गरिरहेको जीविकोपार्जन टेक्निसियन सोनीका महर्जनले जानकारी दिइन् ।

राजपुर नगरपालिका–२ फतुवाकी ललिता देवी साह अझै सम्झिन्छिन्,‘पहिले घरभित्रै बस्नुपथ्र्यो । न त मेरो आम्दानी थियो, न त मेरो निर्णयको मूल्य । श्रीमानको कमाइले मात्र परिवार धानिन्थ्यो । कहिलेकाहीँ खान–लाउन नै समस्या पथ्र्यो ।’

लैंगिक हिंसा न्यूनीकरण परियोजनाले ठेलामा खाजा पसलका लागि आवश्यक सामग्री सहयोग गरेपछि अहिले उनी दैनिक बिहानदेखि बेलुकीसम्म पसलमा व्यस्त हुन्छिन् । मासिक १२–१५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । ‘अब पैसा मेरो हातमै हुन्छ, बच्चाको स्कुल फी, औषधोपचारदेखि घरखर्चमा योगदान दिन सक्छु । घरमा मेरो बोली सुन्ने चलन सुरु भएको छ,’ उनी खुशी हुँदै सुनाउँछिन् ।

राजपुर नगरपालिका–२ कै सुगान्धि देवी पासवान आफ्नै घर अगाडि घुम्तिमा किराना पसल सञ्चालन गर्छिन् । उनको टोलमा माध्यमिक शिक्षा सम्म पढाइ गरेको कुनै छोरी छैनन् । तर उनले आफ्नो छोरीलाई उच्च शिक्षा पढाउन थालेकी छन् । उनले महिनाको १२ देखि १५ हजार रुपैयाँसम्मको आम्दानी गरिरहेको सुनाइन् । ‘पसलको कमाइ नहुँदा छोरीको पढाइ एसईईपछि रोकिएको थियो । अहिले आम्दानी आउन थालेपछि छोरीको पढाइलाई निरन्तरता दिएकी छु,’ उनले भनिन् । उनलाई समेत लैंगिक हिंसा न्यूनीकरण परियोजनाको क्रममा किराना पसल सञ्चालन गर्न सहयोग गरिएको थियो । 

त्यस्तै, चन्द्रपुर नगरपालिका–२ की चमेलीमाया पहरीलाई चटपटे बिक्रीका लागि ठेला सहयोग दिइएको छ । सुरुमा समाजका केही व्यक्तिहरुले ‘एकल महिला भएर सडकमा ठेला किन ?’ भन्दै प्रश्न गरेका थिए, तर अहिले उनको लगनशीलताले त्यही समाजबाट सम्मान पाउन थालेकी छिन् ।

‘अब त म घरको खर्च धान्नेसम्म मात्र होइन, मेरो छोराको पढाइसँगै भविष्य राम्रो बनाउन सक्छु । महिलाले घरमै बस्नुपर्छ भन्ने सोच बदलिन थालेको छ,’ उनी बताउँछिन् । उनले सो ठेलाबाट दैनिक ५ सयदेखि ८ सय रुपैयाँसम्म कमाउन थालेको बताइन् ।

चन्द्रपुर नगरपालिका–८ की रुविदेवी साहले चटपटे र नास्ताको पसल ठेलामा सञ्चालन गर्छिन् । उनलाई पनि परियोजनाको क्रममा सहयोग गरिएको हो । अहिले उनले दैनिक करिब १ हजार रुपैयाँसम्म आम्दानी गरेकी छन् । 

सुरुमा उनलाई पनि परिवार तथा आफन्तले महिलाले ठेला चलाउँछ ? भन्दै प्रश्न गरेका थिए ।

परम्परागत भूमिकामा चुनौती

मधेशमा अझै पनि धेरै परिवारमा महिलाको भूमिका घरभित्र मात्र सीमित छ । महिलाले बाहिर गएर काम गर्ने हो भने सामाजिक आलोचना, परिवारभित्र विरोध र कहिलेकाहीँ हिंसासम्म हुने अवस्था रहन्छ । तर, स्वयम् सहायता समूहले महिलालाई संगठित र सामूहिक बनाएको छ ।

प्रत्येक समूहले मासिक बचत गर्ने, आवश्यकता अनुसार सदस्यलाई ऋण दिने, अनुभव साटासाट गर्ने र समूहगत रूपमा व्यवसाय विस्तार गर्ने काम गरेको छ । यसले महिलाको आत्मविश्वास बढाएको छ र सामुदायिक स्तरमा सामाजिक सञ्जाल पनि बलियो बनाएको छ ।

परियोजना कार्यान्वयन गरिरहेको ग्रामिण विकास केन्द्र नेपालका अनुसार रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकामा मात्रै करिब एक हजार महिलाले यसमार्फत आयआर्जनका गतिविधि सुरु गरेका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी महिलाले मासिक आय कम्तिमा ८–१५ हजार रुपैयाँसम्म गर्न थालेका छन् ।

त्यसैगरी, लाभार्थी महिलामध्ये धेरैले आफ्ना छोरीलाई विद्यालयमा भर्ना गर्ने, छोराछोरीलाई समान अवसर दिने र घरभित्र निर्णय प्रक्रियामा सक्रिय भूमिका खेल्ने गरेको तथ्यांकले देखाएको छ ।

सामाजिक अभियन्ता तथा अधिकारकर्मी ममता झाका अनुसार महिलाको हातमा आम्दानी आउँदा घरमा उनीहरुको बोली बलियो हुने, हिंसाको सम्भावना घट्ने अवस्था आउँछ । साथै यस्ता परियोजनाहरु महिलाको आर्थिक मात्र होइन, सामाजिक सशक्तिकरणतर्फको महत्वपूर्ण कदम हो ।

ADV

सम्बन्धित खबर

Advertise