२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अर्घाखाँचीमा अन्तरस्कुल वक्तृत्वकला प्रतियोगिता

Nada
सूर्यप्रसाद भुसाल
२०८२ भदौ २१ गते २१:०१
Shares
अर्घाखाँचीमा अन्तरस्कुल वक्तृत्वकला प्रतियोगिता

अर्घाखाँची : कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयोजना गरेको अन्तर–स्कुल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता केन्द्रका अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

ncell

‘सामाजिक संजाल : अवसर र चुनौती’ विषयमा आधारित प्रतियोगितामा पाणिनि गाउँपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विशाल पोखरेल प्रथम भएका छन् ।  

त्यस्तै छत्रदेव–६ की अनिसा बन्जाडे द्वितीय, सितगंगास्थित सुवोधनी माध्यमिक विद्यालयकी सविना आचार्य तृतीय र मालारानीस्थित सरस्वती माता माध्यमिक विद्यालयकी एल्सा जिसी सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । 

प्रतियोगितामा जिल्लाका १२ विद्यालयका १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रमुख जिल्ला अधिकारी अर्यालले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीको क्षमता विकास र पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले विजेता तथा सहभागी सबैलाई बधाई दिए ।

सो अवसरमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, सीबीए अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्मा, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष पशुपति खनाल, राष्ट्रिय अनुसन्धान प्रमुख विनय चतुर्वेदी, पत्रकार महासंघ लुम्बिनीका कोषाध्यक्ष प्रेमनारायण आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव गणेश प्रसाद पौडेलले गरेका थिए भने स्वागत मन्तव्य रामजी घिमिरेले दिएका थिए । अतिथ्यतामा हरिप्रसाद डुम्रे रहेका थिए । प्रतियोगिताको मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विण्णु बेल्वासे, पाणिनि बहुमुखी क्याम्पसका उप–प्राध्यापक माधव राज चुदाल र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्यामहरि भट्टराईले गरेका थिए ।

सम्बन्धित खबर