काठमाडौंः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्ने बताए । ‘सरकारका नीतिगत त्रुटि वा कार्यान्वयनमा कमजोरी भए त्यसलाई प्रस्टसँग जनतासामु उजागर गर्नु सञ्चारको दायित्व हो’, पौडेलले भने, ‘साथसाथै सरकारले गरेका उपलब्धि र जनहितमा भएका कामबारे नागरिकलाई सुसूचित पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।’
सो अवसरमा अर्थमन्त्री पौडेलले आर्थिक पत्रकारिताको महत्वमा जोड दिँदै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन पत्रकारको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायत कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताए । मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासङ्घले सधैँ पहल गरिरहेको उल्लेख गर्दै उनले कानुनी र व्यवहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा राखे । यद्यपि कानुन कार्यान्वयन कमजोर हुँदा सोचेअनुरुप नतिजा प्राप्त गर्न नसकेको ढकालको भनाइ छ ।