२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

सरकारको चासोमा परेन ‘कर्णाली राजमार्ग’, पहिरो र धुलोले नागरिकलाई सास्ती

shivam cement
कुलेन्द्र शाही
२०८२ भदौ २१ गते ०६:२५
सरकारको चासोमा परेन ‘कर्णाली राजमार्ग’, पहिरो र धुलोले नागरिकलाई सास्ती

सुर्खेत : कर्णाली राजमार्ग सञ्चालनमा आएको झन्डै दुई दशक बित्न लाग्यो । तर कर्णालीवासीका लागि यो राजमार्ग अझै सुरक्षित जीवनरेखा बन्न सकेको छैन । यसको नामै ‘मृत्यु मार्ग’ भनेर चिनिनु कर्णालीको पीडाको साक्षी बनेको छ ।

यो राजमार्ग जुम्ला, हुम्ला, कालिकोट, डोल्पा र मुगु गरी पाँच हिमाली जिल्लालाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने सडक हो । कहिले धुलाम्य, कहिले हिलाम्य त कहिले पहिरोले पुरिएर यात्रुका लागि निकै कठिन बनेको हुन्छ यो मार्ग । 

बर्खा सुरु भएसँगै यस वर्ष पनि कर्णाली राजमार्ग क्षतविक्षत छ । राजमार्गका विभिन्न स्थानमा खाल्टाखुल्टी छन्, भने कतै पहिरो थुप्रिएको छ । राजमार्ग साँघुरो, हिलाम्य र खाल्टाखुल्टीले सधैं वर्षायाममा नागरिकहरूले सास्ती खेप्दै आइरहेका छन् । नागरिकले जति सास्ती खेपे पनि यो राजमार्ग भने राज्यको उपेक्षामा पर्ने गरेको छ । 

हिउँदमा धुलाम्य बर्खामा हिलाम्य भए पनि राजमार्ग स्तरोन्नति तथा कालोपत्रेका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ । कतिपय ठाउँमा कालोपत्रे गरिएको भए पनि साँघुरो र खाल्टाखुल्टीले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै त्यसमा राज्यले छिट्टै ध्यान दिनुपर्ने स्थानीयहरूले बताउँदै आएका छन् । वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्ने गरेका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित बांगेसिमलदेखि दैलेखको दही खोलासम्मको १ सय ३२ किलोमिटर खण्डलाई हेर्छ भने त्यहाँभन्दा माथि जुम्लासम्मको १ सय ४ किलोमिटर खण्ड सडक डिभिजन जुम्लाले हेर्दै आएको छ । तर दुवै निकायले सडक स्तरोन्नति तथा कालोपत्रे गर्नतर्फ ध्यान दिन सकेका छैनन् । 

यो वर्षको बर्खा सुरु भएपछि कालीकोटको शुभकालिका–१ गगने खोलामा मात्रै असार र साउन महिनामा ३२ पटक पहिरोले सडक रोकिएको छ । हुल्म, ताडी, मोल्फा, गाल्जेसम्म जोड्दा मात्र यस बर्खामा ३० पटकभन्दा बढी राजमार्ग ठप्प भएको तथ्यांक छ । भदौ १४ गते गगने खोलामा गएको ठुलो पहिरो हटाउन नेपाली सेनाले समेत ढुंगा ब्लास्ट गरेर सडक खुलाउनुपरेको थियो ।

तर सडक सुचारु भएको ५ घण्टामै अर्को पहिरोले फेरि यातायात रोकेको थियो । यसरी बारम्बार सडक रोकिँदा यात्रुवाहक बसदेखि मालवाहक ट्रकसम्म अलपत्र पर्छन् जसले यात्रुले बाटोमै बस्नुपर्ने अवस्था आएको छ । 

सरकारबाट सधैं झारो टार्ने प्रयास

प्रत्येक वर्ष बर्खाको समय सुरु हुन नपाउँदै कालीकोटको शुभकालिका–१ गगने खोलामा सडक अवरुद्ध भएर यात्रुलाई सास्ती हुने गरेको छ । बर्सेनि सडक मर्मत गर्न ठेक्का हुने गरे पनि गुणस्तरीय काम नहुँदा पानी पर्नेबित्तिकै पहिरोले सडक अवरुद्ध हुने गरेको स्थानीय बताउँछन् । २०७८ सालको बेमौसमी वर्षाले सडक क्षतविक्षत बनाएपछि गगने खोलामा ३ करोड रुपैयाँमा ग्याबिन जालीसहितको पर्खाल लगाइएको थियो । 

तर एक वर्षमै पहिरोले पर्खाल बगायो र सडक फेरि त्यही हालतमा फर्कियो । यसरी घाम लागे धुलो, पानी परे हिलो हुने कर्णाली राजमार्गको गगने खोलाको पहिरोले सधैं यात्रुलाई सास्ती दिँदै आएको छ । हिउँदभरि सडक मर्मतबारे कुनै पनि चासो नदिने सरकारले बर्खामा पहिरो पन्छाएरै झारो टार्ने काम गरेको कालिकोटका राम परियारको आरोप छ । 

कर्णाली राजमार्गअन्तर्गत सडक डिभिजन कार्यालय सुर्खेतले बांगेसिमलदेखि दही खोलासम्म र त्यसपछिको खण्ड जुम्ला डिभिजनले हेरे पनि दुवै निकायले सडक स्तरोन्नतिको दीर्घकालीन काम अघि बढाउन सकेका छैनन् । कालिकोटका सुशीला परियारले सरकारले अरूबेला ध्यान नदिएर बर्खा लागेपछि मात्रै ‘झारो टार्ने’ शैलीमा काम गर्ने गरेको आरोप लगाइन् । उनले भनिन् ‘अरू समयमा सरकार चुप लाग्छ । बर्खामा मात्र पहिरो पन्छाएर काम सकिन्छ । यो स्थायी समाधान होइन ।’

सडक स्तरोन्नति गर्ने बारे बुझ्न कर्णाली सरकार भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई सम्पर्क गर्दा उनले आफू कार्यक्रममा भएको जवाफ दिए । यता, सडक डिभिजन कार्यालय जुम्ला इन्जिनियर सौरभकुमार सिंहले आफूहरूसँग बजेट नहुँदा पहिरो पन्छाउनेबाहेक अरू काम गर्न नसकेको बताए ।

सिंहले भने, ‘हामीसँग स्तरोन्नति गर्ने बजेट छैन । त्यसैले पहिरो पन्छाउने काम बाहेक अरू गर्न सक्दैनौं । तर गगने खोलामा पुल बनाउन सकियो भने समस्या धेरै हदसम्म घट्छ ।’ उनका अनुसार डिभिजनले आपतकालीन कामका लागि दुईवटा मेसिन तयारी अवस्थामा राखेको छ । इन्जिनियर सिंहले प्रदेश र संघीय सरकारले बजेट विनियोजन गरेर सडक स्तरोन्नति गर्नुपर्ने बताए । उनले गगने खोलामा पुल बनाउन सकेमा यस्तो समस्या बारम्बार नआउने बताए । इन्जिनियर सिंहले सरकारले बजेट विनियोजन गरेर सडक स्तरोन्नति गर्नुपर्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise