२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

प्रयोगविहीन कोल्ड स्टोरः किसानलाई काँचो स्याउ बेच्न हतार

shivam cement
दिलमाया शाही
२०८२ भदौ १६ गते २१:३२
प्रयोगविहीन कोल्ड स्टोरः किसानलाई काँचो स्याउ बेच्न हतार

जुम्ला : जुम्लाका किसानहरूले गुणस्तरीय स्याउ उत्पादन गर्न सके बजारको अभाव नहुने बताएका छन् । जुम्ला चन्दननाथ नगरपालिका–२ का किसान रत्नबहादुर भण्डारीले २०६२ सालदेखि स्याउ खेती गर्दै आएका छन् । उनले लगाएका ३ सय ६५ बिरुवा स्याउले हरेक वर्ष ३ देखि ६ लाख रुपैयाँ आम्दानी दिँदै आएको छ । गुणस्तरीय उत्पादनकै कारण भदौ १५ देखि मात्रै स्याउ टिप्न थाले पनि अन्य किसानको तुलनामा उच्च मूल्यमा बिक्री हुने गरेको भण्डारीले बताए । 

उनले भने, ‘किसानको काम उत्पादन गर्नु हो, बजारको व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ । तर अहिले किसान आफैं व्यापारी बनेको देखिन्छ ।’ त्यस्तै, जुम्लाको गुठिचौर गाउँपालिका–५ निवासी मिनबहादुर भण्डारीको ‘गुठिचौर एग्रो फर्म’जिल्लाकै सबैभन्दा ठूलो स्याउ बगैँचा हो । फर्ममा ४० हजार बिरुवा रहेका छन्, जसमा ९९ प्रतिशतले फल दिइरहेका छन् । भण्डारी आफूले उत्पादन गरेको स्याउ भारत निर्यातको तयारीमा रहेका छन् । यसका लागि कानुनी प्रक्रिया राज्यले चाँडै टुंग्याउनुपर्ने माग राखेका छन् । 

हिमा गाउँपालिका–३ का अर्का किसान गोपाल रोकाय पनि एक दशकभन्दा बढी समयदेखि स्याउ खेती गर्दै आएका छन् । असिनाले केही क्षति पु¥याए पनि उनको बगैंचाबाट करिब ३ सय कार्टुन स्याउ फल्ने अपेक्षा गरिएको छ । रोकायले उत्पादन भएको अर्गानिक स्याउ जुम्लाकै कोल्ड स्टोरमा बुझाउने गरेका छन् ।

१३ करोडमा कोल्ड स्टोर, किसान भने काँचो स्याउ बेच्छन् 

जुम्ला सदरमुकाममा करिब १३ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बहुउद्देश्यीय कोल्ड स्टोर किसानको स्याउ भण्डारणका लागि तयार भएको छ । तर यसको प्रयोग कम भएको देखिन्छ । कैलाश जनरल स्टोरका सञ्चालक देउऋषि चौलागाईंका अनुसार, यो कोल्ड स्टोर १० करोड बैंक ऋण, २ करोड २० लाख व्यक्तिगत लगानी र ८० लाख सरकारी अनुदानमा बनेको हो । यो कोल्ड स्टोरमा २० लाख किलोसम्म स्याउ भण्डारण गर्न सकिने क्षमता छ । एक किलो स्याउलाई ६ महिनासम्म राख्न १० रुपैयाँ मात्र शुल्क लाग्छ । तर किसानहरू अझै पनि स्याउ पक्न नपाउँदै काँचो स्याउ बजारमा पठाउने हतारमा देखिएको चौलागाईंले बताए । यसले गर्दा भविष्यमा स्याउको मूल्य घट्ने समस्या रहने उनको भनाइ छ ।

स्याउ उत्पादनमा फड्को

जुम्लामा पछिल्लो समय स्याउ उत्पादनमा ठूलो फड्को आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, हाल जिल्लामा ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ, जसमा करिब २ हजार हेक्टरमा उत्पादन भइरहेको छ । कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, चालु आर्थिक वर्ष २०८१-८२ मा करिब १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । तर वैशाख १७, जेठ ७ र ८ गते परेको असिनाले उत्पादनमा गिरावट आएको छ ।

गत आर्थिक वर्षमा मात्रै जुम्लाबाट ९ हजार ३ सय ९१ मेट्रिक टन स्याउ बिक्री भई ६१ करोड ४१ लाख रुपैयाँ आम्दानी भएको थियो । चालु वर्षमा मूल्य वृद्धि भए पनि उत्पादन घट्ने अनुमान गरिएको छ । असिनाले जिल्लाभर ७ हजार १ सय ९२ जना किसानका ५ लाख ८४ हजार २७ स्याउका बिरुवा प्रभावित भएका छन् । यसबाट करिब ३६ लाख ८९ हजार किलो स्याउ उत्पादन नहुने अनुमान गरिएको छ, जसको मूल्य करिब १६ करोड ६९ लाख रुपैयाँ बराबर हुने बताइएको छ ।

उच्च घनत्वको स्याउ खेतीतर्फ आकर्षण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्वका स्याउका बिरुवा रोपिएको छ । कृषि विकास अधिकृत खेमराज शाहीका अनुसार, परियोजनाले २०७५-७६ देखि ५८ वटा बगैंचामा लगानी गर्दै आएको छ । स्याउ उत्पादन बढे पनि प्राकृतिक विपद्का कारण नियमित समस्या देखिएको छ । तथापि, किसानले गुणस्तरीय उत्पादनमा ध्यान दिने हो भने बजारको कमी नहुने किसान र स्याउ विज्ञहरूको भनाइ छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise