२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

लुम्बिनी प्रदेशमा करिब ९ लाख ८२ हजार घरधुरीमा खानेपानी सुविधा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ भदौ ९ गते २०:५३
Shares
लुम्बिनी प्रदेशमा करिब ९ लाख ८२ हजार घरधुरीमा खानेपानी सुविधा

भालुवाङ : लुम्बिनी प्रदेशका १२ जिल्लामा करिब ९ लाख ८२ हजार ३५ घरधुरीमा आधारभूत खानेपानीको सुविधा पुर्‍याइएको पाइएको छ ।

ncell

शहर विकास तथा खानेपानी मन्त्री रोज राणाका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा ८६ प्रतिशत घरधुरीमा विभिन्न माध्यमबाट खानेपानीको पहुँच सुनिश्चित भएको छ । यहाँ हेन्ड पम्प, पाइपलाइन, इनार, पोखरी, कुआँ र एक घर–एक धारा जस्ता प्रणाली मार्फत पानी आपूर्ति भइरहेको छ । हाल प्रदेशमा एक घर–एक धारा प्रणाली ७४ प्रतिशत घरधुरीमा मात्र पुगेको बताइएको छ ।

सन् २०३० सम्म नेपालका सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने दिगो विकास लक्ष्यअनुरूप लुम्बिनी प्रदेश सरकारले ‘एक घर–एक धारा’अभियान अघि बढाइरहेको छ । प्रदेशभरिका खानेपानी कार्यालय मातहत झण्डै १४ सय आयोजनाहरू सञ्चालनमा छन्। मन्त्री राणाले सम्पूर्ण योजनाहरू पूरा गरेर सबै घरधुरीमा खानेपानीको पहुँच सुनिश्चित गर्ने निर्देशन दिएका छन् । 

यस वर्ष खानेपानी आयोजनाका लागि १ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा १२४ खानेपानी योजना सम्पन्न भई १ लाख ५६ हजार ७ सय ३६ नागरिक लाभान्वित भएका थिए ।

लुम्बिनी प्रदेशको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ रहेको जनगणना अनुसार सबै घरधुरीमा एक घर–एक धाराको पानी पुर्‍याउन झण्डै २२ अर्ब रुपैयाँ आवश्यक पर्नेछ। प्रदेश सरकारले संघीय सरकारसँग सहकार्य गर्दै योजनाहरू क्रमिक रूपमा सम्पन्न गर्ने तयारी गरिरहेको छ ।

मन्त्री राणाले भने, ‘एक घर–एक धाराको अभियानले आधारभूत तहका उपभोक्तालाई स्वच्छ खानेपानीमा पहुँच सुनिश्चित गर्दैछ । मेरो कार्यकालमा यो अभियान पूरा गर्ने लक्ष्य लिएको छु ।’ प्रदेश सरकारले विकास बजेट पारदर्शी बनाउँदै जनमुखी बनाउन, योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न र नागरिकको गुनासो सुन्न नियमित अनुगमन गरिरहेको छ ।

सम्बन्धित खबर