२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

उडानविहीन चौरजहारी विमानस्थल

Nada
कुलेन्द्र शाही
२०८२ भदौ ७ गते ०६:२०
Shares
उडानविहीन चौरजहारी विमानस्थल

सुर्खेत : एक पटक चहलपहलले भरिएको चौरजहारी विमानस्थल लामो समयदेखि सुनसान छ । धावनमार्गमा यात्रुहरूका पाइला छैनन्, बरु झाडी र बुट्यान फैलिएका छन् । करिब पाँच दशकअघिदेखि कच्ची धावनमार्गमै नियमित जहाज उड्थे–ओस्थे । स्थानीयले बिहानको घामसँगै आकाश चिरेर आउने जहाज देख्थे । तर अहिले त्यही विमानस्थल ‘कालोपत्रे भएपछि’ सुनसान बन्न पुग्यो । स्थानीय प्रेम बिक विगत सम्झँदै भन्छन् ‘पहिले जहाजको आवाज आउनासाथ गाउँभरि बालबालिकादेखि बूढाबूढीसम्म आकाशतिर हेर्थे । कस्तो चहलपहल हुन्थ्यो, हप्तामा जहाज आउँथ्यो, गाउँभरि खुसी छाइन्थ्यो । 

ncell

तर, विमानस्थल कालोपत्रे भएपछि त सदाको लागि बन्द भएजस्तो भयो एउटा पनि जहाज आउँदैनन् ।,’ यस्तै अर्का स्थानीय कमला नेपाली भन्छिन् ‘जहाज भएको समयमा यहाँ व्यापार व्यवसाय निकै चल्थे, तर अहिले त यहाँ व्यवसाय पनि शून्य अवस्थामा छन्,’ उनले थपिन् ‘जहाज भए त पर्यटक आउँथे, होटेल र पसल चल्थे, अहिले त सबै बन्दजस्तै छन् ।,’ यस्तै जाजरकोट भेरी नगरपालिकाका स्थानीय नवीन रोकायले विगत सम्झिँदै चौरजहारी विमानस्थलमा जहाज आउँदा गाउँका सबै वारी विमानस्थलमा हर्ने गरेको बताए ।

‘विगतमा जहाज आउँदा हामी गाउँभरिकै मान्छे काममा लागेको भए पनि एकछिन काम छोडेर भए पनि पारी जहाज हेथ्र्याै ।,’ उनले भने, ‘तर के गर्नु जहाज आउनै छोड्यो,’ उनले चौरजहारीमा अब जहाज आउँछ कि नाइँ भन्दै मध्यान्हलाई प्रश्न गरे । उनको जस्तै प्रश्न तत्कालीन रुकुम, जाजरकोट, सल्यान र डोल्पा लगायतका जिल्लाका सर्वसाधारणको छ । सबैले अब चौरजहारी विमानस्थलमा जहाज आउँछ कि भनेर प्रतीक्षा गरिरहेका छन् । तर यहाँ जहाज नआउने निश्चित जस्तै छ । वि.सं. २०२८ सालमा सञ्चालनमा आएको विमानस्थलमा नेपालगन्ज र काठमाडौँ जोड्ने हवाई सेवा सहज रूपमा सञ्चालन भइरहेको थियो ।

तर, हाल उक्त विमानस्थल झाडीले ढाकिएको छ । २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख रुपैयाँ लागतमा कालोपत्रे गरिएको धावनमार्गमा अहिले झाडी उम्रिएको चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले बताए । ‘धावनमार्ग कच्ची हुँदा जहाज नियमित आउँथे, अहिले भने करोडौँ खर्चेर कालोपत्रे गर्दा पनि विमानस्थल सुनसान छ,’ उनले भने, ‘राज्यको ठुलो लगानी खेर गएको छ, यहाँका सर्वसाधारण हवाई सेवाबाट वञ्चित हुनुपरेको छ ।’ उनले कालोपत्रे गरेपछि एउटा पनि जहाजले अवतरण नै नगरेका बताए । ‘२०७० फागुनदेखि २०७२ भदौसम्म सरकारले धावनमार्ग कालोपत्रे गर्ने निर्णय गर्‍यो । उनले भने, अब त जहाज नियमित चल्छ, यहाँका स्थानीयहरूलाई अब त निकै सहज हुन्छ भन्दै उत्साहित थियौ । तर कालोपत्रेपछि जहाज नै आउन छोडे ।’

उनका अनुसार स्थानीय तहले नेपाल वायु सेवा निगम र नागरिक उड्डयन प्राधिकरणलाई पटक–पटक पत्राचार गरेको भए पनि यसमा प्राधिकरणले चासो नदिएको बताए । ‘हामीले भेटेरै कति पटक पत्र दियौ तर भेटमा हामी जहाज पठाउँछौ भन्नुभयो पठाउनुभएन।,’ उनले भने, ‘हिजो आज त जहाज आउँछ भन्ने आस नै छैन,’ उनले यो विमानस्थल बन्द हुँदा सबैभन्दा ठुलो मारमा बिरामी र विपन्न नागरिक परेको बताए । दैनिक ४÷५ जना बिरामी नगर अस्पतालबाट रिफर भएर गाडीमा अन्य ठाउँमा जाने गरेको बताए । उनले विमानस्थल बन्द हुँदा चौरजहारी आसपासका गुफा, धार्मिक स्थलहरू ओझेलमा परेको बताए । राज्यको करोडौँ लगानीमा खेर जाँदा पनि दुई ठुला पार्टी मिलेर बनेका सरकारहरू मौन बनेका छन् । त्यति मात्रै होइन रुकुमबाटै निर्वाचित भएका पूर्व अर्थमन्त्री जनार्दन शर्मा पनि विमानस्थल पुनः सञ्चालनबारे मौन बसेको छन् । यता, नेपाल वायु सेवा निगमका तत्कालीन निमित्त प्रमुख सुरेन्द्रले कालोपत्रेपछि केही उडान भए पनि कोरोना महामारी सुरु भएपछि माथिल्लो निकायकै आदेशमा उडान बन्द भएको बताए । 

सम्बन्धित खबर