२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

विजयनगर आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ भदौ ६ गते २०:४१
विजयनगर आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका–६ बद्धौरस्थित विजयनगर आधारभूत अस्पतालमा आँखा उपचार सेवा सुरु भएको छ । गाउँपालिकाको सहयोग र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा गरिएको सम्झौताअनुसार साप्ताहिक रूपमा हरेक शुक्रबार आँखा उपचार सेवा र मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सुरु भएको अस्पतालले जनाएको  छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विजयनगर आधारभूत अस्पतालमै आँखा उपचार सेवाको सुरुवात गरिएको बताए । आँखा जस्तो अति संवेदनशील अंगका बिरामी वर्षेनी बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यस सेवाले स्थानीयवासीलाई ठूलो राहत दिने उनको भनाइ छ । अध्यक्ष थापाले स्वास्थ्य बीमा बोर्डसँग ५० प्रतिशत छुटमा सम्झौता भएको जानकारी दिँदै सबै नागरिकलाई स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड र विजयनगर आधारभूत अस्पतालबीच ‘प्रथम सेवा बिन्दु’का लागि समेत सम्झौता भएको छ । उनले अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सक सहित सेवा उपलब्ध  भइरहेको र सामान्य शल्यक्रिया सेवाका लागि पनि एमडी डाक्टरसहित सेवा सञ्चालन प्रक्रियामा रहेको बताए । 

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अस्पतालमा उपलब्ध सेवा सुविधाहरू लिनुपर्नेमा जोड दिँदै आँखा उपचार केन्द्र सञ्चालनले गरिब, विपन्न तथा ग्रामीण क्षेत्रमा रहेका परिवारलाई सहज रूपमा सेवा प्राप्त हुने र सेवाप्रति नागरिकको विश्वास बढ्ने बताइन् । 

त्यस्तै, वडा नं. ६ का अध्यक्ष प्रेम बहादुर कलवारले अस्पतालमा थप सेवाहरू विस्तार हुँदै गएको उल्लेख गर्दै गाउँपालिकाले जनतालाई सर्वसुलभ र प्रभावकारी सेवा उपलब्ध गराउन निरन्तर लागिरहेको बताए । उनका अनुसार सेवा सुरु भएपछि अस्पतालमा दैनिक बिरामीहरूको आकर्षण बढ्दै गएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले हालै बुधबार र बिहीबार सञ्चालित दुई दिने निःशुल्क आँखा जाँच शिविरमा भेटिएका १११ जना मोतिबिन्दुका बिरामीहरूको शल्यक्रिया विजयनगर आधारभूत अस्पतालमै भइरहेको जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise