काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पुर्याउन निर्देशन दिएका छन् । नेपाल प्रहरीले बिहीबार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दीपक थापालाई उक्त निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको उपस्थिति रहेको बताए । उनले आरक्षणमा राखिएको २० प्रतिशतलाई परिणाममा पुर्याउनुपर्नेमा जोड दिए ।
उनले त्यसका लागि सरकार र मन्त्रालयले गर्नुपर्ने सबै सहयोग गर्ने बताए । नेपाल प्रहरीमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पुर्याउन दीर्घकालिन रुपले काम गर्ने पनि उनले जानकारी दिए ।
उनले २०६२/०६३ सालमा देशमा आएको परिवर्तपछि नेपाल प्रहरीमा महिलाको संख्या १२ प्रतिशत पुगेको दाबी गरे । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो अठोट र २०७२ सालको संविधानले मुलुकमा ठुलो परिवर्तन ल्याएको उनको भनाइ छ । तर यत्तिमा मात्रै चित्त बुझाएर बस्ने ठाउँ भने नरहेको उनले बताए ।
उनले गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई अगाडि बढाएको पनि जानकारी दिए । प्रहरी ऐनको मस्यौदा तयार पारेर संसदमा दर्ता गरिएको जानकारी दिँदै उनले चालु आर्थिक वर्षभित्रै प्रहरीसम्बन्धी ऐन संसदबाट पारित हुने बताए ।
हाल प्रहरी नियमावलीको भरमा चलेकोले अस्थिर हुनुपरेको पनि उनको भनाइ छ । उनले सर्वोच्व अदालतले १० वर्ष अगाडि प्रहरी ऐन ल्याउने आदेश दिएको भएपनि हालसम्म ल्याउन नसकिएको बताए । नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल दुवै संगठनसम्बन्धी कानुनलाई चाँडो भन्दा चाँडो पारित गर्ने उनले जानकारी दिए ।