२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए नि:शुल्क उपचार

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते १२:२४
भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए नि:शुल्क उपचार

चितवन : संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले नि:शुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरूले यो सेवा लिएका हुन् ।

गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरूले नि:शुल्क वा छुटमा उपचार सेवा पाएका हुन् । रु. चार करोड छ लाख ९५ हजार १० बराबरको सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
एकाइका प्रमुख रामहरि ढकालका अनुसार लक्षित वर्गमा चेपाङ्, बोटे, मुसहर, माझी, असहाय र वेवारिसेहरु पर्ने गर्दछन् । उनीहरूले सो वर्षमा तीन हजार ४९ जनाले सेवा लिएको उनले जानकारी दिए । उनीहरूले रु. तीन करोड ३३ लाख ७६ हजार ३५८ बराबरको सेवा लिएको ढकालले बताए ।

त्यसै गरी अस्पतालको गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार सेवाबाट दुई हजार २३४ जना लाभान्वित भएको उनले बताए । आकस्मिक सेवामा गरिएको उपचारमा रु. ७३ लाख ८१ हजार ६५२ खर्च भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले यस एकाइबाट मन्त्रालयले विनियोजित गरेको बजेटभन्दा दोब्बर खर्च गरी लक्षित वर्गलाई सहयोग गरिएको बताए । सामाजिक सेवा एकाइबाहेक पनि धेरै बिरामीको नि:शुल्क उपचार गरिएको जनाउँदै डा. पौडेलले नि:शुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा आउने गरेको बताए ।

लक्षित समूहसँगै अन्य बिरामीको समस्या र अवस्थाअनुसार नि:शुल्क वा आंशिक छुटमा सेवा दिने गरिएको उनले जानकारी दिए । देशका विभिन्न जिल्लाबाट बिरामी आउने भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise