२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

यमुनामाई गाउँपालिकाका जनप्रतिनिधि धर्नामा, गाउँसभा अनिश्चित

Nada
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ४ गते २०:००
Shares
यमुनामाई गाउँपालिकाका जनप्रतिनिधि धर्नामा, गाउँसभा अनिश्चित

रौतहट : गाउँसभाको पूर्वसन्ध्यामा रौतहटको यमुनामाई गाउँपालिकाका जनप्रतिनिधिहरूले कार्यपालिका भवन अगाडि धर्ना सुरु गरेका छन् । 

ncell

यमुनामाई गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सिताराम यादवको नेतृत्वमा करिब २१ जना जनप्रतिनिधिहरूले कार्यालय अगाडि धर्ना तथा प्रदर्शन सुरु गरेका हुन् । यसले ६ गतेका लागि प्रस्तावित गाउँसभा समेत अनिश्चित बनेको छ ।

वडाध्यक्ष यादवले भने, ‘हामीले विभिन्न १३ बुँदे माग राखेर आन्दोलनमा छौं । कुल निर्वाचित २९ जना प्रतिनिधिमध्ये २१ जना हामी आन्दोलनमा छौं । नगर प्रमुखले बलजवरदस्ती नगरसभा गर्न चाहे पनि हामी प्रतिकार गछौं ।’

यादवले पालिका अध्यक्ष शेख इर्शादाले प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर अनियमितता गर्ने उद्देश्यले काम गरिरहेको आरोप लगाए । 

उनका अनुसार पालिकामा पारदर्शिता, मितव्ययिता तथा जवाफदेहिता कायम गर्न आन्दोलन आवश्यक छ ।

प्रदर्शनकारीले आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मका गाउँसभाका निर्णय, कार्यपालिका बैठकको माइनुट, रातोकिताब, सर्शत अनुदान, सम्पूर्ण बजेट योजनाका कागजात, बैंक स्टेटमेन्ट र लेखा परीक्षण प्रतिवेदनसमेतको प्रमाणित प्रतिलिपि माग गरेका छन् । साथै, स्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नियुक्ति प्रमाणित प्रतिलिपि, अनलाइन टेण्डर र अनलाइन बिडिङ प्रणाली लागु गर्न, गाउँपालिका भरी प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गर्न, गाउँपालिका स्तरिय अस्पताल तत्काल स्थापना गर्न, स्थानीय जनताले प्रयोग गरेका विद्युत् महसुल नलिनुपर्ने लगायतका १३ बुँदे माग राखेका छन् । 

पालिका अध्यक्ष शेख इर्शादले भने, ‘वडाध्यक्ष सिताराम यादवको विरोध कुनै नयाँ होइन । हामी सबै माग पुरा गर्न प्रतिबद्ध छौं र गाउँसभामा सबैलाई सहभागी हुन अपिल गर्छौं ।’

यमुनामाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँसभा गर्न सकेको छैन । निर्वाचित प्रतिनिधिहरूबीच विवाद रहँदा गाउँसभा हुन सकेको छैन । यसअघि पनि सो पालिकामा विवाद देखिँदै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर