२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

सल्यानको कपुरकोटमा मिचाहा वनस्पति व्यवस्थापन अभियान

shivam cement
प्रदीप मगर
२०८२ भदौ ४ गते १६:४६
सल्यानको कपुरकोटमा मिचाहा वनस्पति व्यवस्थापन अभियान

सल्यान : सल्यानको कपुरकोटमा मिचाहा (आक्रामक) वनस्पतिहरूको व्यवस्थापन र विस्थापनका लागि अभियान सुरु भएको छ । वनस्पति अनुसन्धान केन्द्र सल्यानको अगुवाइमा कपुरकोट गाउँपालिका, सब डिभिजन वन कार्यालय, जमपानीस्थित नमूना सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था र स्थानीयवासीको सक्रिय सहभागितामा राप्ती राजमार्ग आसपासका क्षेत्रमा फैलिएको कनेके झार, कालो बनमारा र काँडे बनमारा हटाउने कार्य तीव्र रूपमा अघि बढेको छ ।

कार्यक्रममा सहभागी हुँदै कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले गाउँपालिकाभित्रका ४९ वटा सामुदायिक वन उपभोक्ता समूहलाई यो अभियानमा समन्वयात्मक रूपमा सहभागी गराएर प्रभावकारी ढंगले अघि बढ्ने बताए । “मिचाहा प्रजातिको समस्या सल्यानमा मात्र सीमित छैन, यो नेपालभरको चुनौती हो। विशेषगरी कपुरकोटमा कनेके झार, कालो बनमारा र काँडे बनमाराले रैथाने वनस्पति नष्ट गर्ने, खेतीपातीमा ह्रास ल्याउने र खाद्य चक्रमा गम्भीर असर पार्ने अवस्था छ,” उनले भने । उनले स्थानीयवासीलाई प्लास्टिकजन्य फोहोर जहाँतहाँ नफाल्न र सार्वजनिक स्थानमा खुला दिसापिसाब नगर्न पनि आग्रह गरे ।

वडा नं. ३ का अध्यक्ष प्रदीप खड्काले गाउँपालिकाले प्रत्येक शनिबार सञ्चालन गर्दै आएको श्रम अभियानमार्फत सरसफाइसँगै अब कालो बनमारा र काँडे बनमारा विस्थापनका लागि वनस्पति अनुसन्धान केन्द्रसँग सहकार्य गर्ने बताए । “हामीले सरसफाइलाई निरन्तरता दिँदै मिचाहा वनस्पतिलाई जरैदेखि उखेलेर वातावरण संरक्षणमा योगदान पुर्‍याउने छौं,” उनले भने ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले जिल्लाभर मिचाहा वनस्पति व्यवस्थापनको यो अभियानअन्तर्गत पहिलो दिन सदरमुकाम खलंगामा र दोस्रो दिन मुलपानी बजारदेखि सोलाबाङ बजारसम्म करिब २ किलोमिटर क्षेत्रमा फैलिएको कनेके झार र बनमारा हटाइएको जानकारी दिए । “यी आक्रामक प्रजातिलाई समयमै नियन्त्रण नगरे अवस्था विकराल हुन सक्छ। यिनलाई उखेलेर फाल्ने वा काटेर सुकाएर जलाउनुपर्छ,” उनले भने । उनले यो अभियान भोलि मुलपानीदेखि कपुरकोट बजारसम्म विस्तार हुने र क्रमशः जिल्लाभर फैलिने बताए ।

स्थानीय बासिन्दा मिन कुमारी बुढाथोकीले विगत ५ वर्षदेखि कनेके झार र बनमाराले खेतबारीमा फैलिँदा उत्पादनमा कमी आएको र पशुपक्षीलाई समेत हानि पुगेको गुनासो गरिन् । “यी झारले हाम्रो खेतीपाती र पशुपालनमा ठूलो नोक्सानी गरेको छ । यो अभियानले राहत दिने आशा छ,” उनले भनिन् ।

कार्यक्रममा सामुदायिक वन महासंघका केन्द्रीय सचिवालय सदस्य घनश्याम शर्मा, सब डिभिजन वन कार्यालय प्रमुख मुकुन्द पौडेल, जनप्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरूको उल्लेख्य सहभागिता थियो । यो अभियानले स्थानीय वातावरण संरक्षण र जैविक विविधता जोगाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise