काठमाडौं : काठमाडौं उपत्यकामा रहेका सार्वजानिक, नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरु नै संलग्न रहेको पाइएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मलेनमा प्राधिकरणका काडमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतले उच्चपदस्थ व्यक्ति तथा नाम चलेका विद्यालयहरुले सार्वजानिक जग्गा अतिक्रमण गरेको जानकारी दिए ।
उनले काठमाडौंमा एक लाख रोपनी भन्दा धेरै जग्गा अतिक्रमण भएको बताए । २०२१, २०४४ र २०५६ को नापीलाई अध्ययन गर्दा धोबी खोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको उनले जानकारी दिए ।
तीन चरणको नापीलाई अध्ययन गर्दा ३ हजार रोपनी नदी किनारका जग्गा मात्रै अतिक्रमण गरिएको उनको भनाइ छ । ती जग्गाहरु अहिले व्यक्तिले आफ्नो नाममा दर्ता गरिसकेको स्थिति रहेको उनले बताए ।
तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको उनको भनाइ छ । ती सबै जग्गाहरु झुपडीवालाले नभइ ठुलाठुला व्यक्ति, नाम चलेको स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेको उनले बताए ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पत्ति रोक्का गर्ने काम सुरु गरेको पनि उनले जानकारी दिए । प्राधिकरणलाई जग्गा रोक्नसक्ने अधिकार रहेको उनले बताए ।
उनले माधव खोलामा सार्वजानिक जग्गा मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरुको प्राधिकरणले सम्पत्ति रोक्का गरिसकेको जानकारी दिए ।
उनले चैत ३ गतेदेखि अवैध प्लटिङलाई कित्ताकाट रोक्का गरेको जानकारी दिए । हाल १ हजार १५० कित्ता अवैध प्लटिरु रोक्का भएको उनको भनाइ छ ।