२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

‘गौर हत्याकाण्डका दोषी कानुनको कठघरामा पुग्नेछन्’

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते २२:०८
‘गौर हत्याकाण्डका दोषी कानुनको कठघरामा पुग्नेछन्’

अभिमनु पटेल/मध्यान्ह

रौतहट : १९ वर्षअघि रौतहटको सदरमुकाम गौरमा भएको नरसंहार ‘गौर राईस मिल हत्याकाण्ड’ पुनः चर्चामा आएको छ । सर्वोच्च अदालतले जिल्ला प्रहरी कार्यालय, गौरलाई निष्पक्ष छानबिन गर्न परमादेश दिएपछि यो मुद्दा फेरि राष्ट्रिय बहसको केन्द्रमा पुगेको हो । 

२०६३ साल चैत २७ गते गौरस्थित राईस मिल प्राङ्गणमा मधेशी जनअधिकार फोरम र माओवादीबीच भएको कार्यक्रम व्यवस्थापनको विवादले भीषण रुप लिएर २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज अजयकुमार गुप्ताले घटनाको वास्तविक योजनाकार तत्कालीन माओवादी नेता प्रभु साह रहेको आरोप लगाएका छन् । 

उनले आफूलाई बारम्बार घटनामा संलग्न देखाउने प्रयास भए पनि सत्य यथार्थ फरक भएको स्पष्ट पारे ।

गुप्ताले भने, ‘त्यो बेला जिल्लाका शीर्ष नेता, अधिवक्ता, पत्रकार, नागरिक समाजका अगुवाहरूको नाम प्रभु साहकै निर्देशनमा सूचीमा राखियो । मेरो नाम पनि पहिलो नम्बरमा राखियो। तर घटना घट्दा मलाई कार्यक्रममा भाग लिनुपर्नेबारे कुनै जानकारी थिएन । यो नरसंहार प्रभु साहकै स्वार्थ र योजनाबद्ध निर्देशनमा भयो ।’ उनका अनुसार साहकै आदेशमा तत्कालीन माओवादी कार्यकर्ताहरूलाई परिचालन गरी मधेशी जनअधिकार फोरम नेपालको मञ्चमाथि आक्रमण गराइएको थियो । सो आक्रमणकै क्रममा ठूलो संख्यामा माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको हो ।

गुप्ताले भने, ‘न्यायपालिका सर्वोच्च हो। दोषी जतिसुकै शक्तिशाली भए पनि न्यायको आँखाबाट बच्न सक्दैन। हामी निष्पक्ष छानबिन चाहन्छौं र अदालतलाई आवश्यक सम्पूर्ण सहयोग गर्नेछौं । पीडित परिवार १९ वर्षदेखि न्यायको प्रतीक्षामा छन् । अब सत्य बाहिर आउँछ र दोषी कानुनको कठघरामा पुग्नेछन् ।’

उनले आफूलाई राजनीतिक प्रतिशोधका कारण पटक–पटक फसाउन खोजिएको दाबी गर्दै भने, ‘मेरो जीवन वा राजनीतिक यात्रामा यो मुद्दाले कुनै अवरोध ल्याउने छैन। बरु पीडित परिवारलाई न्याय दिलाउने प्रक्रियामा सहयोग पुग्नेछ । एमाले सधैं जनताको निर्णयलाई सर्वोपरी मान्छ र न्यायपालिकाको आदेशलाई सम्मान गर्छ ।’

गुप्ताले थपे, ‘आफैं झाक्री, आफैं बोक्सी बनेर घटनालाई बारम्बार भिन्न रूप दिने प्रभु साहको चाल अब काम लाग्दैन । यो छानबिनले षड्यन्त्रकारीको वास्तविक अनुहार समाज र राष्ट्र सामु प्रस्ट पार्नेछ ।’

ADV

सम्बन्धित खबर

Advertise