काठमाडौं : सुन्धारास्थित नेपाल टेलिकमको कार्यालय । कार्यालयको सेल्स डिपार्टमेन्ट । जहाँ छन्, ढोकाबाटै देखिने दुई/तीनवटा क्याबिन । तीमध्ये ढोकाछेउकै क्याबिनको कुर्सीमा बसेर कम्प्युटर चलाइरहेका छन् एक जना पुरुष, बिनामाउस । कम्प्युटरको स्क्रिनमा भइरहेको गतिविधि केवल उनका हातका औंलामा निर्भर छ । औंलाको चलाइसँगै आउने ध्वनिले बताइरहेको छ, के हुँदै छ स्क्रिनमा भनेर ।
सामान्य मानिसजस्तै टेलिकमका ग्राहकका गुनासालाई क्षणभरमै मेटाउन सक्ने खुबी भएका ती व्यक्ति हुन् गौतम पोखरेल । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा २०५० सालमा बुबा टेकनाथ पोखरेल र आमा देवी पोखरेलको जेठो सन्तानका रूपमा जन्मेका उनी जन्मजात रूपमा दृष्टिविहीन हुन् । दृष्टिविहीन भए पनि उनको आँट र काम गराइले उनलाई आज टेलिकमको सहायक प्रशासकीय अधिकृत बनाएको छ ।
अशक्ततालाई तागत बनाएका गौतम
जन्मजात रूपमै आँखा नदेखे पनि सानैबाट आफू फुर्तिलो स्वभावको भएको गौतम बताउँछन् । उनलाई नयाँ कुरा जान्न खुब इच्छा हुन्थ्यो । पढ्न मन पराउँथे । तर आँखाकै समस्याका कारण केही विद्यालयहरूले भर्ना नलिएको तितो अनुभव पनि उनीसँग छ । भन्छन्, ‘चार/पाँच वर्षको उमेरतिर विद्यालय भर्नाका लागि ड्याडीले ट्राइ गर्नुभो । पोखरामा राम्रो होला भनेर ड्यालीले त्यता ल्याउनुभाथ्यो । तर भर्ना गर्नै मानेन् । अनि स्याङ्जामै दृष्टिविहीनहरूलाई हेर्ने डे केयरजस्तो थियो । तर त्याँ गरिएन । पछि नजिककै बोर्डिङ स्कुलमा हाल्दिनुभो ।’
कक्षा चारसम्म त्यहाँ पढेका उनलाई सामान्य विद्यार्थीजस्तै गरी पढाइन्थ्यो । आफूमा पढ्ने हुटहुटी हुँदा पनि देख्न नसकेका कारण उनले नेपाली वर्णसमेत लेख्न सिक्न सकेका थिएनन् । तर शिक्षकले बोलेका कुरा उनलाई कण्ठै हुन्थे । स्मरण शक्ति र बोली प्रभावशाली भएका कारण केवल बोलेर प्रश्नको उत्तर दिए उनलाई पास गराइन्थ्यो ।
यसैबीचमा बुबा टेकनाथले आँखाको मोतिबिन्दुको उपचारका लागि भारत लगे । त्यसपछि दाहिने आँखाले अलिअलि देख्न थालेको उनी बताउँछन् । देख्न थालेपछि उनका मामाले उनलाई देवघाट लगेर ब्रेललिपिबाट अध्यापन गराउने विचार गरे र लगे पनि । यसपछि गौतमको पढ्ने सपनाको बाटो खुल्यो । नेपाली वर्ण पनि चिन्न थाले । उनको बोलीसँगै लेखन क्षमता पनि बढ्न थाल्यो ।
‘यसले आँखा देख्दैन के गर्ला, कसरी पढ्ला’जस्ता समाजका कटु वचनलाई चुनौतीका रूपमा लिएर विद्यालयमा अब्बल विद्यार्थीको सूचीमा उनी पर्न थाले । ‘भन्नेले भन्थे के गर्ला र आँखा देख्दैन । तर मलाई लाग्थ्यो आँखा नदेख्दैमा केही गर्न नसकिने हो र ! त्यही भएर म पछि कहिल्यै पर्दिनँ राम्रो गरेर देखाउँछु लाग्थ्यो सानैबाट,’ गौतमले भने ।
अध्ययनमा खप्पिस भइसकेका गौतमलाई १७ वर्षको उमेरमा फेरि त्यही पीडाको सामना गर्नुप¥यो, जुन उनले जन्मेदेखि भोगेका थिए । उनको दाहिने आँखाको दृष्टि पनि पूर्णरूपमा गुम्यो । तर अब उनमा नयाँ ऊर्जा थियो र आत्मविश्वास पनि । परिवारको साथ त थियो नै । आफ्नो असक्ततालाई हतियार बनाएर उनी जीवनको युद्धभूमिमा आफैसँग युद्ध गर्न तम्तयार भए ।
कक्षा १० पछि विज्ञान पढ्न एक्लै काठमाडौं आएको उनी बताउँछन् । धेरैले गाह्रो हुन्छ, दृष्टिबिना कसरी पढ्छौं विज्ञान ? भन्ने प्रश्न पनि गर्थे तर आफ्नो क्षमतालाई चिनेका गौतमले त्यही विषयमा राम्रो अंकमा कक्षा १२ उत्तीर्ण गरे । यो समयमा साथीहरूको साथ भरपुर पाएको पनि उनी सम्झिन्छन् । योसँगै प्रविधिलाई पनि साथी बनाएर उनी हिँड्न थाले । जसले उनको अध्ययनलाई थप सहज बनाइदियो । उनले आँखाले देख्न नसके पनि कान र औंलाको सहायताले आफूलाई पूर्ण बनाउने प्रयास गरिरहे र सफल भए पनि । अहिले उनले एमपीए गरिसकेका छन् । साथै स्नातक तहमा कानुन विषय पनि बढेका छन् । एकवर्षे बीएड पनि गरेका छन् ।
चाख लाग्दो त्यो अन्तर्वार्ता
गौतमलाई टेलिकममा काम गर्न थालेको ६ वर्ष भयो । उनले चौथो तहमा अपांग कोटाबाटै परीक्षा दिएका थिए । लिखितमा राम्रो अंकमा नाम निस्किएको थियो । तर अन्तर्वार्तामा फालिन्छु कि भन्ने डर उनको मनमा थियो । तर जब उनी अन्तर्वार्ता दिन गए । अन्तर्वार्ता लिनेहरू उनलाई देखेर दङ्ग गरे । हरेक प्रश्नको उत्तर फटाफट । यति मात्र नभई एक जनाले ‘नेपाल टेलिकममा सहायक लेभलको कर्मचारीले के काम गर्नुपर्छ, त्यसमा तपाईंले चाहिँ के काम गर्नुहुन्छ ?’ भन्ने प्रश्न सोधे । उनले जवाफ दिए, ‘मैले इमेलहरू ह्यान्डिलिङ गर्ने, चिठी लेख्ने काम गर्न सक्छु ।’ उनको जवाफले सबै जनालाई चाख लाग्यो, ‘आँखा नदेख्नेले कसरी चिठी लेख्छ !’ यत्तिकैमा उनले झोलाबाट ल्यापटप झिके र टाइप गरेर देखाए ।
अधिकांश सशक्त व्यक्तिले समेत प्रविधिको प्रयोग गर्न नजानेको परिवेशमा आफू ‘दृष्टिविहीन’ले त्यसरी ल्यापटप चलाउँदा आफूलाई देखेर उनीहरू छक्क परेको अनुभव पनि उनले सुनाए । टेलिकममा नाम निस्किनुमा त्यही कुराको प्रभाव हुन सक्ने पनि उनलाई लाग्छ । नाम निस्किएपछि उनको सहजतालाई मध्यनजर गर्दै काठमाडौंको सुन्धारास्थित टेलिकमको कार्यालयमा पोस्टिङ मिलेकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् ।
चौथो तहको काम गर्दागर्दै गौतमले छैटौं तहको परीक्षा दिएका थिए । त्यसमा पनि उनी सफल भएर सहायक प्रशासकीय अधिकृतको जिम्मेवारीमा बाधिँए । यसका साथै उनी अहिले फुर्सदमा लोकसेवाको तयारी गरिरहेका विद्यार्थीलाई पढाउने काम गर्छन् । समयसमयमा ट्रेनिङ दिने पनि गर्छन् । काठमाडौं नेत्रहीन संघको सचिवको जिम्मेवारी पनि उनले पाएका छन् ।
परिवार, जीवनसाथी, साथी र सहकर्मीको साथले आफूलाई अब्बल बनाउन ऊर्जा मिलेको विश्वास गौतमको छ । आँखामा दृष्टि नभए पनि उनी संसार नियाली रहेका छन् प्रविधिमार्फत । उनी शारीरिक रूपमा अशक्त भएकाहरूका लागि मात्र नभई पूर्ण रूपमा सशक्त भएकाहरूका लागि पनि प्रेरणा बनेका छन् । आफूजस्तै दृष्टिविहीन वा अन्य शारीरिक असशक्तता भएकालाई आँट गरेर आफूभित्रको प्रतिभा, क्षमता बाहिर ल्याउन उनी सुझाव दिन्छन् ।
यसका साथै सरकारले अपांगता विषयलाई गौण रूपमा लिएको उनको गुनासो छ । अशक्तहरूका लागि पहुँचयुक्त पूर्वाधारको निर्माण गरिदिए, बाटो, ठुलाठुला कार्यालय वा भवनहरूमा दृष्टिविहीनहरूका लागि अडियो प्रविधियुक्त स्रोत साधनको पहुँच र व्यवस्था गरिदिए पनि आफूहरूलाई अरूको भर पर्नुपर्ने बाध्यता टर्ने उनको भनाइ छ ।