साउदी : साउदी अरबस्थित हेल्प मधेशी साउदी अरबले सर्लाही कबिलासी नगरपालिका–५ पचगछियाका निम्न आर्थिक अवस्था भएका एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । सर्लाही राकेश यादवलाई २४ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
साउदी अरबमा रहेका विभिन्न दलान र सेवकहरूको सामूहिक पहलमा सहयोग संकलन गरिएको थियो । मानवीयताको नाताले पीडित यादवको तत्कालको आवश्यकता पूरा गर्न सहयोग उपलब्ध गराइएको हो । अभियानमा योगदान गर्नेहरूमा सकेन्ड सनैया दलान, जनसेवा दलान, अलखैर ७ सिटको दलान, सामुहिक दलान, माँ जानकी युवा दलान, अपन दलान र संजिव राय लगायत रहेका छन् ।
सहयोग प्रदान गर्ने क्रममा हेल्प मधेशी साउदी अरबका अध्यक्ष श्याम कुमार महतोले भने, ‘हामी विदेशमा रहे पनि आफ्ना दाजुभाइ र दिदीबहिनीको दुःखमा सधैँ साथ दिन तयार छौं । यो सहयोग हाम्रो मानवीय कर्तव्य हो, जसमा सबैको एकता र भावना प्रशंसनीय छ ।’ उनले सहयोगमा संलग्न सबैप्रति आभार व्यक्त गरे ।
यस संस्थाले साउदी अरेबियामा रहेका नेपाली श्रमिकहरूको राहत र उद्धार गर्दै आएको छ । पछिल्लो समय संस्थाले राहदानीको अनलाइन फारम भर्ने, श्रम स्वीकृति लिने र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने जस्ता कार्यमा निःशुल्क सहयोग पनि गर्दै आएको छ ।