रौतहट : रौतहटमा रासायनिक मलको अभाव र कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गर्ने भएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खड्काको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको बैठकले सम्भावित कालोबजारी र कृत्रिम अभाव रोक्न कडा कदम चाल्ने निर्णय गरेको हो । बैठकले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सबैलाई अपिल गर्दै आवश्यक परे प्रहरी परिचालन गरेर आपूर्ति सहज बनाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मलको आपूर्ति सामान्य बनाउन निर्देशन दिएको भोलिपल्ट बैठक बसेको हो । बैठकले मल आपूर्ति गर्ने जिम्मा पाएका साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीलाई कृषि ज्ञान केन्द्रको समन्वयमा १५ दिनभित्र आपूर्तिसम्बन्धी विस्तृत तथ्यांक पेस गर्न आदेश दिएको छ ।
यस्तै, मल वितरण प्रणाली अझ पारदर्शी बनाउन स्थानीय तहलाई किसानको जग्गा विवरणसहित किसान कार्ड लागू गर्न आग्रह गरिएको छ ।
बैठकमा सुरक्षा निकायका प्रमुख, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र कुर्मी, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रनाथ गोपालीलगायतको उपस्थिति थियो ।
स्थानीय डिलर र कृषकका अनुसार जिल्लामा मलको अभावका कारण अन्तरजिल्ला तस्करी बढेको छ । विशेषगरी रौतहटबाट सर्लाहीतर्फ मल तस्करी हुने गरेको र धर्मपुरस्थित बागमती पुलमा निगरानी बढाए डीएपीको अभाव आधा घट्ने दाबी गरिएको छ । स्थानीयले अनुगमनको जिम्मेवारी पाएका नगरपालिका कार्यालयहरू सक्रिय नभएकै कारण तस्करी मौलाएको आरोप लगाएका छन् ।