काठमाडौं : भदौ महिनाको संसद्को कार्यसूचीबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
शुक्रबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुसँग सभामुखले छलफल गरेका हुन् । छलफलमा भदौ महिनाको कार्यतालिका कस्तो बनाउने र संसद कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
नेपाली महिलाहरुको चाडहरु परेकाले त्यसलाई मध्यनजर गरी कार्यतालिका बनाउन आफूले सुझाव दिएको उनले बताए ।
उनले भने, ‘सम्माननीय सभामुखज्यूले हामी राष्ट्रिय दलका प्रमुख सचेतकहरुलाई बोलाउनुभएको थियो । यो गृहकार्यका लागि हो । कार्यतालिका कसरी बनाउने भनेर हो । भाद्र महिनाको १ देखि १५ गतेसम्मको कार्यतालिका कसरी बनाउने भनेर हो । हामीले सुझाव दिँदा आफ्नो सुझाव दिएका छौं । नेपाली महिलाहरुको चाड तिज परेकाले त्यसलाई ख्याल गरेर कार्यतालिका बनाउन आग्रह गरेका छौं ।’
प्रतिनिधि सभाको आगामी बैठक भदौ ४ गते बस्दैछ ।