अर्घाखाँची : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा तथा शीतगंगा नगरपालिकाको समन्वयमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरप्रमुख छबिलाल पौडेलले सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै तहका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । उनले पारदर्शिता र जवाफदेहितामा नगरपालिका प्रतिबद्ध रहेको र यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गरे ।
उपप्रमुख गिता भाटले भ्रष्टाचार नियन्त्रण केवल कानुनी प्रक्रिया मात्र नभइ जनप्रतिनिधि र कर्मचारीहरूको नैतिक दायित्व भएको बताइन् । उनले प्रत्येक कर्मचारी र जनप्रतिनिधिले आफ्नो कार्य गर्दा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व पालना गर्नुपर्ने जोड दिइन् ।
अख्तियार बुटवलकी प्रमुख बिनिता भट्टराईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अख्तियार सक्रिय रहेको बताउँदै स्थानीय तहमा आएको बजेटको दुरुपयोग रोक्न सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक सेवाप्रदायक निकायहरूमा देखिने समस्या, सेवा प्रवाहमा पारदर्शिताको कमी, जिम्मेवारी अस्पष्टता तथा नागरिकको पहुँच अभावका विषयमा प्रश्न राखेर सुझाव प्रस्तुत गरेका थिए । अख्तियारका कर्मचारीले सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै जनचेतना अभिवृद्धि र सेवामा सुधारका लागि स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीले अख्तियारद्वारा यस्ता कार्यक्रम आयोजना गरेर स्थानीय तहलाई सहजीकरण गरेकोमा धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरेका थिए ।