काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारहरू स्वतन्त्र हुनुपर्ने भन्दै पार्टीवाद र तन्त्रवादको सीमा नाघेर कलम चलाउनुपर्नेमा जोड दिएकी छन् ।
जनआकाश मिडियाले आयोजना गरेको ‘जनआकाश साप्ताहिक’को १८औं वार्षिकोत्सव तथा स्रष्टालाई सम्मान र सोही मिडियाका अध्यक्ष मोहन कार्कीद्वारा लेखिएको ‘मलाई सुन्दर नेपाल बनाउने रहर छ’ शीर्षकको स्वदेश गान लोकार्पण कार्यक्रममा प्रमुख अतिथि उपसभामुख रानाले यो धारणा राखेकी हुन् ।
रानाले अर्को प्रसंगमा सामाजिक रुपान्तरण केवल गफमा नभई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन् । उनले अन्य मुलुकहरू अर्थतन्त्रमा बलियो बन्दै गएको सन्दर्भ दिँदै, नेपालमा इमानदारीका साथ कर तिर्नेहरूको इमानदारी नदेखिएको बताइन् । यस्ता महत्वपूर्ण विषयहरू सञ्चारमाध्यमले उठाएर समाजलाई सु–सूचित बनाउन सक्ने उनले बताइन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शान्तराम विडारीले जनआकाश मिडियाको कार्यक्रमहरूमा निरन्तर सहभागी हुँदै आएको बताए । उनले पत्रकारिता क्षेत्रमा कतिपय सञ्चारमाध्यमहरू ‘मर्नु र बाँच्नु’को दोशाधमा रहेको उल्लेख गर्दै, जनआकाश पत्रिकाले पत्रिका, अनलाइन र युट्युब सञ्चालन गर्न सफल भएको र यसका लागि अध्यक्ष कार्कीको संघर्ष नै कारण भएको बताए ।
त्यसैगरी, विशेष अतिथिको रूपमा उपस्थित नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाकी अध्यक्ष शोभा अर्यालले जनआकाश मिडिया टिमको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्न शुभकामना दिइन् । उनले १८ वर्षको यात्रा आफैंमा ठूलो समय भएको बताइन् । अर्को प्रसंगमा अर्यालले पत्रकारलाई हेर्ने दृष्टिकोण सरकारको जहिले प्रतिपक्षजस्तो रहेको टिप्पणी गरिन् । साथै, आउन लागेको मिडिया काउन्सिल विधेयकको अस्पष्टता र अनलाइन मिडियालाई सिडिओ कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानबारे आपत्ति जनाउँदै यसले सञ्चारमाध्यमलाई निरुत्साहित गर्ने काम गरेको बताइन् ।
कार्यक्रममा स्वागत मन्तव्य दामोदर ढकाल (दिपक)ले दिएका थिए । वरिष्ठ पत्रकार डा.केशव देवकोटा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० व्यक्तित्वलाई सम्मान गरिएको थियो । साथै, ‘मलाई सुन्दर नेपाल बनाउने रहर छ’ स्वदेश गानको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । यस्तै उपस्थित सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।