गोरखा : अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर ।
आफूजस्तै दिनरात श्रम गरेर खाने दौँतरीसँग उनको समय बित्छ । लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्छन् । सम्पत्तिको नाममा घरले चर्चेको यही जग्गा हो उनको । त्यसले असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के !
“योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो । यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचार वटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छन्”, कुसुन्डाले भने ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ मात्रै छ । यसैमा पर्छ चेतबहादुरको आठ सदस्यीय परिवार । उनको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै हो । विसं २०३८ मा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ । उनी आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना सुनाउँछन् । “१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, चेतबहादुरले भने, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै पर्यो !”
आमा सुमित्रा वनकिरानीले आफू र दुई छोरीलाई कहिले यता, कहिले उता सारेको कष्टकर दिनको सम्झिँदा चेतबहादुर अहिले पनि गम्भीर बन्छन् । दिदीबहिनी दुवैले तेह्रकिलोबजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उनले सुनाए । “दुवै जनाले क्षेत्रीसँग बिहे गरे । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यही बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलासीको काम गरेँ”, चेतबहादुरले भने ।