२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

डा. रामेश कोइरालाले दिए राजीनामा

Nada
२०८२ साउन २८ गते १२:४३
Shares
डा. रामेश कोइरालाले दिए राजीनामा

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।

ncell

विदेशमै रहेका डा. कोइरालाले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत व्यक्तिगत कारणले आगामी असोज ३० गते (१६ अक्टोबर २०२५) देखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले अस्पतालका कार्यकारी निर्देशकलाई सम्बोधन गरी पठाएको राजीनामासम्बन्धी इमेलमा सो मिति अघि नेपाल फर्कन नसक्ने उल्लेख गरेका छन्।

राजीनामापत्रमा उनले लेखेका छन्, “३० असोजदेखि लागू हुनेगरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई अवगत गराइदिन अनुरोध गर्दछु । सो अवधिसम्म मेरो कार्यकक्षमा रहेका व्यक्तिगत सामान र कागजात हस्तान्तरणका लागि प्रतीक्षा गरिदिनुहोस् ।”

एक्समा उनले राजीनामासँगै भावनात्मक टिप्पणी गर्दै लेखेका छन्, “सीप, देश र पेशा छाड्दा मन अमिलो भयो तर फरक भूमिकामा फर्किने सोच छ । सर्जन नहुन पनि सक्छु, रिक्सा चलाएरै घर चलाउने दिन आयो भने पनि पत्याउने मेरा घरकालाई सलाम ।”

कोइराला मंगलबार बिहान अमेरिका पुगेका थिए । फेसबुकमा अमेरिका ओर्लिएको तस्बिर पोस्ट गर्दै उनले, “देश, पेशा, जीवन र भूमिका : सब अब फरक” भनेर लेखेका छन् ।

उनको राजीनामालाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन दिएको, तर नियुक्ति नपाएका कारण असन्तुष्ट भएर राजीनामा दिएको अनुमान पनि छ ।

२५ वर्षदेखि गंगालाल हृदय केन्द्रमा सेवा गर्दै आएका डा. कोइरालाले राजीनामापत्रमा केन्द्रको प्रगति र आगामी योजनाप्रति आशावादी रहेको जनाएका छन् । “म केन्द्रमा नरहे पनि यसको विस्तार शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्रका रूपमा हुनेमा विश्वास छ र म सल्लाह–सुझावका लागि सधैं उपलब्ध हुनेछु,” उनले लेखेका छन् ।

uae

सम्बन्धित खबर