कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममार्फत वडा नं. ६ खडैचा–खजहनी–छुटपाटीसम्मको कालोपत्रे सडक र वडा नं. ७ ढोढरी–बडसडवा हुँदै वडा नं. ५ बनगाइ–हुलाकी मार्गसम्मको कालोपत्रे सडक निर्माण कार्यको अनुगमन गरिएको थियो । साथै अधूरा सडक निर्माण तथा अन्य पूर्वाधार विकास योजनाको प्रभावकारिता र गुणस्तरबारे समीक्षा गरिएको हो ।
मुख्य अतिथि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले एसआइपीएस कार्यक्रमले स्थानीय पूर्वाधार विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यस वर्ष ३ करोड रुपैयाँको बजेटसँगै थप १ करोड रुपैयाँ विनियोजन गरी विकास कार्यलाई अझ सशक्त बनाउने योजना रहेको जानकारी दिए ।
उनले स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार बनाएर योजनाहरू अघि बढाइनेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले समुदायको सक्रिय सहभागिता नै कार्यक्रम सफलताको मेरुदण्ड भएको बताउँदै गुणस्तरीय पूर्वाधारले वर्तमान मात्र नभइ भविष्यका पुस्ताको जीवनस्तरमा समेत दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गरिन् ।
बेलायती राजदूतावासकी सामाजिक क्षेत्र सल्लाहकार कमला केशीले यस कार्यक्रमले ग्रामीण क्षेत्रमा दिगो समृद्धि ल्याउने उल्लेख गर्दै स्थानीय तहमा गरिएको लगानी नै दीर्घकालीन विकासको आधार भएको बताइन् ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयका प्रतिनिधि प्रलाद अधिकारीले योजनाको प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्न नियमित अनुगमन आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष प्रेम बहादुर कलवार, वडा नं. ७ का अध्यक्ष दिनेश कुमार चौधरी, लेखा शाखा प्रमुख हिमाकान्त आचार्य, इन्जिनियर नविन डुम्रे लगायतको सहभागिता रहेको थियो ।
अनुगमन तथा अन्तरक्रिया क्रममा स्थानीयवासीहरूले सडक, खानेपानी, पुल–पुलिया, स्वास्थ्य र शिक्षा क्षेत्रमा थप प्राथमिकता दिनुपर्ने माग राखेका थिए । उनीहरूले पूर्वाधारको पहुँच र गुणस्तर स्थानीय आवश्यकता र अपेक्षाअनुसार सुधार गर्नुपर्नेमा जोड दिएका थिएका थिए ।