२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

मध्यान्ह समाचार प्रभाव : गौर अस्पतालले बिरामीलाई दिँदै आएको खाना सेवा नरोक्ने

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ साउन २७ गते २१:०६
मध्यान्ह समाचार प्रभाव : गौर अस्पतालले बिरामीलाई दिँदै आएको खाना सेवा नरोक्ने

गौर : मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंहले गौर अस्पतालमा भर्ना हुने बिरामीलाई दिँदै आएको खाना सेवा नरोकिने प्रतिबद्धता व्यक्त गरेका छन् । रकम अभावका कारण खाना सेवा बन्द हुने भनिएको भएपनि जनहितमा सेवा निरन्तर रहने उनले स्पष्ट पारे । गौरमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री सिंहले अस्पतालबाट औपचारिक पत्र नआए पनि वस्तुस्थिति बारे जानकारी रहेको बताए । ‘बिरामीले पाउँदै आएको कुनै पनि सेवा कटौती हुँदैन,’ मन्त्री सिंहले भने, ‘संघीय लोकतन्त्र नयाँ अभ्यासमा रहेकोले सानो सानो समस्या देखिन्छ, तर रकम अभावमा खाना रोकिने कुरा मान्य हुँदैन ।’

उनले पछिल्ला वर्षमा प्रादेशिक अस्पतालको सेवा–सुविधामा आमूल परिवर्तनका कारण बिरामीको संख्या बढेको र यसले बजेट अभाव सिर्जना गरेको बताए । सिंहका अनुसार प्रदेश सरकारले केही दिनमै समस्या समाधानका लागि पर्याप्त बजेट विनियोजन गर्नेछ । गौर अस्पतालको सेवा सुधारले भारतबाट समेत बिरामी उपचारका लागि आउन थालेको उनको दाबी छ ।

मन्त्री सिंहले गौर अस्पतालको सेवा विस्तारमा पूर्व नगर प्रमुख अजय गुप्ता र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै १०० शय्याको अस्पताल बनेपछि आवश्यक जनशक्ति र मेसिनरी व्यवस्थापनमा मन्त्रालय लागि परेको बताए ।

यसअघि रकम अभावका कारण खाना सेवा बन्द गर्ने तयारी भएको थियो । अध्यक्ष हाश्मीले सामाजिक सञ्जालमार्फत बिरामीलाई दिँदै आएको खाना र अन्य सुविधा बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिएका थिए । अस्पतालका लेखापाल जितेन्द्र यादवका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा खानाको ठेक्का पाएका गुप्ता सप्लायर्सलाई ३१ लाख ६७ हजार रुपैयाँ बाँकी छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख रुपैयाँ मात्र विनियोजन गरेपछि अध्यक्ष हाश्मीले सेवा बन्द गर्ने चेतावनी दिएका थिए । उक्त विषयलाई मध्यान्ह राष्ट्रिय दैनिकले समाचार प्रकाशन गरेको थियो । 

गत आर्थिक वर्षमा बिरामीको खानाको लागि १० लाख रुपैयाँ मात्र विनियोजन गरिएको थियो । बिरामीको संख्या बढ्दै गएपछि रकम अभाव देखियो र बक्यौता रकम बढ्दै गयो । यसै कारण २०८१ जेठमा गौर अस्पताल प्रशासनले थप रकम विनियोजनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रक्रिया सुरु गरेको थियो । २०८२ जेठ २ गते मन्त्रालयमा पठाइएको पत्रमार्फत ३४ लाख रुपैयाँ माग गरिएको र सोही आधारमा मन्त्रालयले अर्थ मन्त्रालयलाई रकम निकासा गर्न पत्राचार गरेको थियो ।

तर अर्थ मन्त्रालयको तजबीजका कारण रकम निकासा हुन सकेन । अध्यक्ष हाश्मीले अर्थ मन्त्री सुनिक कुमार यादवमाथि फोनसमेत नउठाएको र आफ्नै जिल्लाको अस्पतालमा सेवा बन्द हुन लाग्दा पनि गम्भीरता नदेखाएको आरोप लगाए । यादव नेपाली कांग्रेसबाट रौतहट प्रदेशसभा सदस्य हुन् ।

खाना सेवा बन्द हुने खबर सार्वजनिक भएपछि रौतहटका राजनीतिक दलहरूले आन्दोलनको चेतावनी दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise