काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि समस्या समाधान आयोगको कामको गति सन्तोषजनक नभएको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले आयोगको कामप्रति असन्तुष्टि जनाएका छन् । उनले कामको गति कछुवाको गति भएको भन्दै अहिलेसम्म आयोगले जम्मा सात हजार जति मात्रै धनीपूर्जा वितरण गरेको बताए । उनले यो प्रारम्भिक चरण भएकाले सामान्य रुपमा लिन सकिए पनि अब द्रुत गतिमा काम हुनुपर्ने बताए । उनले केही जिल्लामा अझै आयोग नै नबनेको भन्दै दुई हप्ताभित्र बन्न बाँकी सबै जिल्लामा भूमि समस्या समाधान आयोग बनाइसक्न निर्देशन दिए ।
उनले भने, ‘तपाईंहहरुले अहिलेसम्म गर्नुभएका कामका लागि धन्यवाद छ । तर कामको गति मैले अनुभुत गरेको धेरै ढिला छ है । कछुवा गति छ । अहिलेसम्म तपाईंहरुले धनीपूर्जा सबै प्रकृतिका मिलाउँदा सात हजार जति बाँढ्नुभएको छ । यो प्रारम्भिक चरण भएकाले यसलाई अण्डरस्ट्याण्ड गर्न सकिन्छ । बुझ्न सकिन्छ । अलमल, व्यवस्थापन, तालमेल नमिल्ने कुरा हुनसक्छ । अब यसपछि त्यस्ता कुरा हुनु हुँदैन, कामले गति लिनुपर्छ । अझै केही जिल्लामा आयोग बनिसकेको छैन । केही जिल्लामा आयोग नै बनिसकेको छैन भने बढीमा सात हप्तादिनदेखि दुई हप्ताभित्र सबै ठाउँमा आयोगले पूर्णता पाउन् । केही मद्दत गर्नुपर्छ भने गृहमन्त्रीजी त्यहाँ हुनुहुन्छ । तपाईंहरु दुई जना मिलेर अघि बढाएपछि कुरा सकियो । आयोगलाई कसरी सफल बनाउने भन्नेमा सरकारले ध्यान दिन्छ ।’
प्रधानमन्त्री ओलीले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासहरु अब व्यवस्थित हुनुपर्ने बताए ।