काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) कासांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ ।
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । उनीहरुबाट विरोध भएपछि सभामुख महराले राजपाका नेता अनिलकुमार झालाई बोल्न समय प्रदान गरे ।
झाले सभामुखबाट सरकारलाई लाल आयोगको प्रतिवेदन अर्काे बैठकमा सार्वजनिक गर्न रुलिङ होस् भनी माग गरे । उनले भने,“आफ्नो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ, सभामुखका तर्फबाट पनि प्रतिवेदन सार्वजनिक गर्न रुलिङ भएको थियो तर पनि सरकारले तदारुखता देखाउनुको साटो आलटाल गरिरहेको छ ।”
सभामुखबाट रुलिङ भएको हप्ताभन्दा बढी समय बितेको र प्रतिवेदन सार्वजनिक भएमा कैलालीको टीकापुरमा भएको घटनामा कसले के कस्तो गल्ती अन्याय गरेकोछ, कसलाई केकस्तो कारवाहीको सिफारिश गरेको छ भन्ने जान्न सकिने थियो भन्दै सांसद झाले सरकारले प्रतिवेदन सार्वजनिक नगरेर सत्य लुकाउन खोजेको र सभामुखको रुलिङ नमान्नु संसदीय सर्वाेच्चतालाई नमान्नु भएको विचार राखे ।
त्यसपछि पनि राजपाका सांसदले उठेर विरोध जनाइरहेपछि सभामुख महराले प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई सरकारले सकारात्मक रुपमा लिएको र केही समय अध्ययनका लागि माग भएको जानकारी दिए । त्यसपछि पनि राजपाबाट विरोध भइरहेपछि सभामुखले बैठक १० मिनेटको लागि स्थगन भएको घोषणा गरे । यसअघि पनि राजपाका सांसदको विरोधका कारण तीन बैठक प्रभावित भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies