साउदी अरब : हातेमालो प्रवासी नेपाली समूह, आभा खमिसको आयोजनामा र हिमालयन नेपाली रेष्टुरेन्टको सहकार्यमा नेपाली नारीहरूको महान पर्व हरितालिका तिज धमाका २०८२ आगामी २२ अगस्ट २०२५ (शुक्रबार) का दिन भव्य रूपमा मनाइने भएको छ ।
कार्यक्रम खमिस मुशैतस्थित कृष्टल हल, अल मोसा तन्दहा मा दिउँसो १२:०० बजेबाट सुरु हुनेछ ।
यस वर्षको तिज धमाकाको प्रमुख आकर्षण बनेका छन् चर्चित गायक अर्जुन सापकोटा, रेशम निर्दोष र गायिका मिना लामा । उनीहरूले आफ्ना लोकप्रिय तिज गीत, लोक तथा आधुनिक गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्ने तयारी गरेका छन् । साथै, स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण रहनेछ ।
तिज दर खाने कार्यक्रमसँगै बृहत् सांस्कृतिक धमाकामा सहभागीहरूको नेपाली खानाको विशेष व्यवस्था गरिएको छ । आयोजक समितिले यस अवसरलाई सांस्कृतिक एकता, मनोरञ्जन र नेपालीपनको साझा मञ्चका रूपमा सफल बनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ ।