२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले ढाकियो

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८२ साउन २४ गते २२:०९
रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले ढाकियो

रोल्पा : रोल्पाको जलजला समय अनुसार फरक–फरक दृश्य देखिने गर्दछ । जसअनुसार रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले यतिबेला ढाकिएको छ । जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ ।

जलजला समुद्री सतहदेखि २ हजार २ सय मिटरदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको छ । जलजला पुग्न विभिन्न मार्गहरू प्रयोग गर्न सकिन्छ । हरेक वर्षको साउने पूर्णिमा अर्थात् जनैपूर्णिमाको अवसरमा जलजलामा भव्य पूजा लाग्ने गर्दछ । पूजामा जिल्लाभित्र मात्र नभइ छिमेकी जिल्ला रुकुम, सल्यान, प्युठान, दाङ र बागलुङ लगायत अन्य जिल्लाहरूबाट पनि पूजा गर्न र घुम्न आउने गरेको पाइन्छ । शनिबार पनि करिब ६ सयदेखि ८ सय जतिको साँडा र भेडाको बलि दिइएको जलजला पुजा तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तव्यमा सुचीकृत भएको नयाँ गन्तव्य समेत मानिन्छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहित भिजिट ट्वान्टी–ट्वान्टी अभियान नै शुरु गरेको थियो । जसमा रोल्पाको जलजला पनि समावेश भएको थियो । अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरूलाई सहज होस् भनेर ठाउँ–ठाउँमा बाटो देखाउने साइनबोर्ड समेत राखिएको छ । तल जमिन दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानीनै पानीले भरिएको जस्तो महसुस गर्न सकिन्छ । अगाडि निलो आकाश मुनी हरिया साना थुम्का छन् । जलजलाको अर्को आकर्षणको रूपमा दुर्लभ सेतो गुराँस मान्नीने गर्दछ । जलजलामा घोरल,थार,मृग,बँदेल,भालु जस्ता जंगली जनावर समेत पाइने गर्दछ ।

साथै धुपी,बाँज,सेतो गुराँस,लाली गुराँस,भोजपत्र,लेकाली सल्ला लगायत वनस्पति तथा थुप्रै जडीबुटी समेत पाइन्छ।यस्तै डाँफे,मुनाल,कालिज,बाघ,भालु लगायत पक्षी तथा जनावर पनि यहाँ भेटिने गरेको पाइन्छ । युद्ध कालदेखि नै जलजलामा बस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिँदै आएको छ । आफ्नो पहिचान,बिर्ता र ऐतिहासिकता बोकेको जलजलाको दृश्य शब्द र तस्बिरले वर्णन गर्न सकिँदैन । महिनैपिच्छे जलजलाको फरक फरक दृश्यावलोकन गर्न सकिन्छ ।

फागुन,चैत,वैशाखमा लाली गुराँसले ढकमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकिएको हुन्छ । असार,साउन,भदौ र असोज महिनामा दुर्लभ रङ्गीबिरङ्गी फूलहरूले सिँगारिन्छ । जलजला सयौं बुकी फूलहरूले सजिएको छ । फूलमा रमाएका चराहरूको चिरबिर आवाजले कान नै गुञ्जायमान गराइदिन्छ । जलजलाको दलदल गर्ने घाँसे मैदानमा आनन्द लिएर बेग्लै अनुभव यहाँ गर्न सकिन्छ । जलजलाको ऐतिहासिक महत्वसँगै धार्मिक महत्व पनि उत्तिकै छ ।

ADV

सम्बन्धित खबर

Advertise