२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

समय-समयमा सरकार परिवर्तन भइरहन्छ, यो ठूलो कुरा होइन : प्रधानमन्त्री ओली

shivam cement
मध्यान्ह
२०८१ साउन १ गते १६:२२
समय-समयमा सरकार परिवर्तन भइरहन्छ, यो ठूलो कुरा होइन : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताए । “सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ । अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ”, उनले भने । सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो ।

उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए  ।

प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताए । मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताए । 

प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा गृहमन्त्रीले पनि प्राथमिकतामा साथ काम गरिरहेको उल्लेख गरे । उनले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताए ।

ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा अलपत्र पर्ने अवस्था आउन नदिने उल्लेख गर्दै भने, “बालबालिका भविष्यका कर्णधार हुन् तिनलाई फस्टाउन दिनुपर्छ ।” प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताए ।

ADV

सम्बन्धित खबर

Advertise