२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

भक्तपुर क्यान्सर अस्पतालमा नयाँ सेवा थप

Nada
२०८२ साउन ११ गते २०:३४
Shares
भक्तपुर क्यान्सर अस्पतालमा नयाँ सेवा थप

काठमाडौं : हरेक वर्ष जुलाई २७ तारिखका दिन मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस आइतबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइएको छ ।

ncell

नेपालमा दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर बिरामीमा समयमै उपचार र समुदायमा सचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गर्नुका साथै केही महत्वपूर्ण स्वास्थ्य सेवा थप गरेको छ ।

अस्पतालले आइतबारदेखि दन्त तथा मुख रोग विभाग, स्तन क्यान्सर उपचारको लागि छुट्टै वार्ड, र डेन्टल ओपीडी सेवा सुरु गरेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले एमडीएस डाक्टर समेत अस्पताललाई उपलब्ध गराएको छ ।

त्यस्तै, मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा पनि यसै महिनाबाट सुरु गरिने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उज्वल चालिसेले जानकारी दिए । यस सेवाबाट क्यान्सर पीडित बिरामी र उनका आफन्तहरूलाई मानसिक रूपमा सघाउन सहज हुने विश्वास गरिएको छ ।

अस्पतालले टाउको, मुख, घाँटी, र स्तनको जटिल सर्जरीपछि प्लाष्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी गर्नका लागि सुष्मा कोइराला अस्पतालसँग सहकार्य गरेको छ । यसले सर्जरीपश्चात बिरामीको शारीरिक संरचना पहिलेको अवस्थामा फर्काउन सहयोग पुर्‍याउनेछ ।

साथै, रेडियसन उपचारपछि बोल्न र खाना निल्न समस्या हुने बिरामीहरूको सहजताका लागि अस्पतालले स्पीच एण्ड स्वालोइङ्ग थेरापी सेवा पनि सुरु गरेको छ ।

कार्यक्रममा क्यान्सर विजय हासिल गरेका व्यक्तिहरू, स्वास्थ्यकर्मी र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै डा.चालिसेले टाउको तथा घाँटी क्यान्सरबारे व्यापक जनचेतना फैलाउनु जरुरी रहेको उल्लेख गरे । 

उनले भने, ‘नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ। धेरैजसो यस्ता क्यान्सर प्रारम्भिक चरणमै पत्ता लागेमा उपचार सम्भव हुन्छ तर चेतनाको अभाव, सामाजिक लज्जा र सेवा पहुँचको सीमितताले बिरामीहरू ढिलो अस्पताल पुग्ने गरेका छन् ।’

डा.चालिसेले क्यान्सरविरुद्धको लडाइँमा सरकार, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था, सञ्चारमाध्यम सबैले आ–आफ्नो भूमिकामा सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै क्यान्सर विजेता बिरामीहरूलाई प्रेरणाका प्रतिनिधि, चेतनाका दूत र परिवर्तनका अगुवा को रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए । 

भक्तपुर क्यान्सर अस्पतालको यो पहलले टाउको तथा घाँटी क्यान्सरसम्बन्धी जनचेतना र उपचार पहुँच दुवै विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

uae

सम्बन्धित खबर