पर्सा : पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ गादीमा निर्माण गरिएको सुविधासम्पन्न प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेश चौधरीले पूजा–पाठ गरी रिबन काटेर उक्त भवनको औपचारिक उद्घाटन गरेका हुन् । एक करोड पाँच लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको बर्थिङ सेन्टर आइतबारदेखि नियमित सेवा सञ्चालनमा आएको वडा अध्यक्ष विजय गैरेले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताका अनुसार सो भवन संघीय सरकारबाट ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण गरिएको हो ।
गाउँपालिका अध्यक्ष चौधरीले सेवा केन्द्र सञ्चालनमा आएसँगै अब स्थानीय गर्भवती महिलाहरूलाई सुरक्षित प्रसूति सेवाका लागि वीरगञ्ज, पोखरिया वा अन्य शहर धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए ।
गाउँपालिका उपाध्यक्ष ममता महतोले आफ्नै गाउँमै गुणस्तरीय सेवा उपलब्ध भएपछि महिलाहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन् ।
२४ सै घण्टा सेवा सञ्चालनमा रहने बर्थिङ सेन्टरमा अत्यन्त सुलभ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराइनेछ ।
स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष गैरेले यो केन्द्र पर्सा जिल्लाको ग्रामीण क्षेत्रमै नमूना रूपमा स्थापित भएको बताए । उनले दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीको व्यवस्था गरिएको र नवजात शिशुका लागि आवश्यक उपकरण तथा निःशुल्क औषधिहरू पनि उपलब्ध रहेको जानकारी दिए ।
उद्घाटन समारोहमा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भुजेन्द्र यादव, सह–संयोजक जगरनाथ साह, वडा नं १ का अध्यक्ष फरमान अन्सारी, वडा नं ४ का अध्यक्ष वासु पजियार थारु, विभिन्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो ।