स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको निःशुल्क बीमावापतको रकम रु एक करोड ७२ लाख भुक्तानी गरेको छ ।
गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । निःशुल्क स्वास्थ्य बीमा गरेसँगै पालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा १ करोड ७२ लाख ७२ हजार एक सय ५० स्याङ्जास्थित स्वास्थ्य बीमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका निःशुल्क बीमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिइन् ।
७ वटावडा रहेको कालीगण्डकी –१ मा सात सय ७२ घरधुरी, वडा नं २ मा सात सय २६ घरधुरी, वडा नं ३ मा पाँच सय ८३, वडा नं ४ मा छ सय ६८, वडा नं ५ मा छ सय ८०, वडा नं ६ मा पाँच सय ८८ र वडा नं ७ मा पाँच सय २६ गरी कूल चार हजार पाँच सय ४३ घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।
गाउँपालिकाले पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बीमावापत ६१ लाख ७७ हजार १५० भुक्तानी गरेको थियो । दोस्रो चरणमा दुई हजार एक सय ८३ घरधुरीका लागि ८२ लाख रु ७० हजार ५००, तेस्रो चरणमा तीन सय ९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० र चौँथो तथा अन्तिम चरणमा तीन सय ४४ घरधुरीको बीमावापत १३ लाख ३२ हजार चार सय ५० भुक्तानी गरेको छ ।
गाउँपालिकाका सात वटै वडाका चार हजार पाँच सय ४३ कूल घरधुरीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।