२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीले निःशुल्क पाउने

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते ११:४३
चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीले निःशुल्क पाउने

काठमाडौं : क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वर्ल्डवाइडको समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

मन्त्रालयले आइतबार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण समेत गरेको छ ।

औषधिहरु असार २७ गते शुक्रबार नेपाल ल्याइएको थियो । सोही दिन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेको थियो । औषधि तथा सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका धेरै समस्याहरु रहेको र औषधि पनि महंगो रहेको बताए ।

साथै उपलब्ध हुन समस्या हुने र विपन्न नागरिकहरु यसको पहुँच बाहिर रहने भएकाले विपन्न नागरिकहरुलाई लक्षित गरी औषधि ल्याइएको उनले बताए । यसले धेरै नागरिकलाई राहत पुर्‍याउने विश्वास आफ्नो रहेको पनि उनले बताए ।

औषधिमा राज्यको कुनै लगानी नरहेको र राज्यको लगानी बिनै नागरिकलाई केही राहत दिनका लागि सरकारले प्रयास गरेको उनले बताए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले भने, ‘क्यान्सरका धेरै समस्याहरु छन् । औषधि महंगो छ । उपलब्ध हुँदैन, विपन्न नागरिकलाई यो कठिन छ । त्यसैले हामीले क्यान्सरको उपचार हुने खासगरी भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, सुशील कोइराला क्यान्सर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल मुख्य गरी यिनै हुन् । यी अस्पतालहरुमा हाम्रो स्वास्थ्य सेवा विभागमार्फत हामीले यो औषधि उपलब्ध गराउनेछौं । यसले धेरै नागरिकलाई राहत पुर्‍याउनेछ भन्ने हाम्रो विश्वास छ । राज्यको कति पनि लगानी भएको छैन । राज्यको लगानी बिनै नागरिकलाई केही राहत पुर्‍याउने कोसिस गरेका छौं ।’

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरु चार अस्पतालमा क्यान्सरका बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइनेछ । सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर उपलब्ध गराइने मन्त्रालयले बताएको छ ।

ADV

सम्बन्धित खबर

Advertise