–प्रा.डा. बद्री विशाल पोखरेल
विगत असार १४ गते राष्ट्रिय सभामा मदन भण्डारी फाउन्डेसनको भव्य कार्यक्रम भयो । सभाकक्ष बाहिर समेत एमाले नेता र कार्यकर्ताको उल्लेखनीय सक्रिय सहभागिता थियो । सभाको प्रमुख आकर्षण विद्यादेवी भण्डारी थिइन् । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गरिन् । विद्या भण्डारीमय सभा माहौल देखेर कोही कोही अत्तालिएको तिनका अभिव्यक्तिबाट थाहा भयो । तर, उक्त सभामा उपस्थित तमाम निराश नेता र कार्यकर्ताहरूमा नौलो आशा र भरोसा सञ्चारित भएको देखिन्थ्यो । यससँगै पार्टीमा दाहिने र देब्रे नेता देखापरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विवेकलाई बन्धक राखेर मन्तव्य दिएनन् । विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा सँगै तिलमिलाएका उपरवालालाई सैद्धान्तिक र वैचारिक तथा तर्कपूर्ण जवाफ दिए । उनले मन र इमानको बोली बोले, ओठ मात्र चलाएनन् । उनी सतहीरूपमा हेर्दा भण्डारीका दाहिने हात भएर देखा परे । तर, पोखरेलले जबजको जनवादी÷लोकतान्त्रिक मर्म, महत्व, सार र अन्तर्य अभिव्यक्त गरेका थिए । पोखरेल आफ्नो ‘मेरो घर’ कवितामा अभिव्यञ्जित भाव र जबजको प्रकाशमा अग्रगमन गर्ने कुरामा अडिग देखिन्थे । पार्टीका उपाध्यक्ष सहित उपल्ला तहका अधिकांश नेताले बोल्ने अवसर पाएका भए पार्टीभित्र सङ्ग्रालिएको चरम विसङ्गतिको पोको खोल्नै नै थिए ।
तर, कतिपय ओठे भक्तहरूले जननेता मदन भण्डारी र विद्या भण्डारीको परोक्ष वा प्रत्यक्ष मानमर्दन गरेको देख्दा तिनप्रति दया लागेर आउँछ । सिद्धान्तका निर्माणका सवालमा ताली पिट्ने हैसियतका केही नेताले जबजको प्रतिपादनमा मेरो पनि कम महत्वपूर्ण भूमिका छैन भनेको सुन्दा लाजै लजाउँछ । यस्तै, कृतघ्न चरित्रका एकाध नेता अरू पनि देखिँदै छन् । २०५० जेठ ३ गते पोखराको अन्तिम सम्बोधनमा जननेता मदन भण्डारीले एमाले संगठन, नेता, कार्यकर्ता टुल्स÷औजार मात्र किमार्थ बन्न हुन्न भनेका थिए । उनले सैद्धान्तिक, संगठनात्मक, सिर्जनात्मक तथा कुनै न कुनै सामान्य प्राविधिक ज्ञानयुक्त संगठक अपरिहार्य रहेको कुरा सुझाएका थिए । मदन भण्डारीले सामन्तवादी संस्कार र संस्कृतिलाई कलात्मक हस्तक्षेप गरी सुधारात्मक आन्दोलन सञ्चालन गर्न चाहन्थे । अहिले त पार्टी संगठन, कार्यकर्ता र नेतालाई महाराजका सेवाका निमित्त बनाइएका काँटा, चम्चा बनाउन खोजिएको छ । आफ्नो अति सामान्य विवेकलाई बन्धक बनाएर कमरेड महाराजको जुनसुकै आदेश तिनले हुबहु पूरा गर्नुपर्छ ।
पार्टी र नेतृत्वलाई सुझाव स्वरूप लेख लेख्दा पनि खप्की खानु परेको छ । स्वंय पंक्तिकारका लेखहरू अनलाइन र छापा पत्रिकामा प्रकाशित नगर्न पत्रिका गृहलाई एकाध नेताले दबाब दिएको थाहा भएको छ । यसले पार्टी संगठनको अस्तव्यस्त अवस्था जाहेर हुन्छ । यो अवस्था अहिले सुध्रिने अवस्था देखिन्न । श्री ५ बडा महाराजा पृथ्वी नारायण शाहले बिसे नगर्चीको सल्लाह लिन्थे । तर, अहिले जबज सिद्धान्तका प्रणेता र प्रखर व्यक्तित्वलाई उच्च गरिमामय भारी सभामा गम्भीर कटाक्ष गरिन्छ । अनि उनका ओठहरू उनकै लोली र बोलीमा ट्याउँट्याउँ गर्न थालेका देखिन्छन् ।
आगामी महाधिवेशनमा नेतृत्व हत्याउन अनेक पञ्च प्रपञ्च गर्नेहरू पार्टी र सिद्धान्तको लेपन लगाएर सोझासिधा कार्यकर्तालाई कुहिराको काग बनाउन लागिपरेका छन् । हाम्रा पुर्खाहरू आमालाई गुरूकी पनि गुरू महागुरू÷गुरूआमाका रूपमा सम्मान गर्थे जस्तै ः उपाध्यायान् दशाचार्य आचार्याणम् शतं पिता, सहस्रं तु पितृन् माता गौरवेणाति रिच्यते । अहिले आमाकै अगाडि दुर्वाच्य बोल्न थालिएको देखिन्छ । मोरङ जिल्लाको तत्कालीन साझा सहकारी काण्डका विषयमा मदनले दर्शन उर्फ घनश्याम भट्टराईलाई कारबाही गरेको बुझीबुझी किन मदनलाई लाञ्छित गरिन्छ ? कुराले घोप्नेहरूले छुरा पनि चलाउन सक्छन् भन्ने कुरा माओको जीवनका घटनाबाट पनि थाहा हुन्छ । जननेता मदन भण्डारीलाई मैले महासचिव बनाएको भन्ने सवालको जवाफ ईश्वर पोखरेलले नबोली नै दिए । ईश्वर पोखरेल, प्रदीप नेपाल र मुकुन्द न्यौपानेलगायत नेता दाहिना भएकैले कमरेड केपी शर्मा ओली नवौँ महाधिवेशनमा पार्टी अध्यक्ष हुन पाएका थिए । तर, ईश्वरले म र मैले अध्यक्ष बनाएको हो भनेर कहिल्यै फुर्ती लगाएनन् । मदनलाई महासचिव बनाउनेले मदनको सुरक्षार्थ व्यवस्था र बन्दोबस्त गर्नुपर्छ भनेर पार्टी बैठकमा उच्चारण गरेको सुनिएन । नेता केशव बडालले बरू मदनको सुरक्षाको राम्रो प्रबन्ध गर्नुपर्छ भनेर बैठकमा राखेका थिए । यो कुरा उनीद्वारा लिखित कृति सिंहावलोकन (पृ.८०) मा पढ्न पाइन्छ ।
नेकपा एमालेमा तीन थरी नेता छन् । पहिलो थरी पार्टीमा कमजोरी नहोस् भनेर बेलैमा गम्भीर पहल गर्छन् । अर्काथरि कमजोरी देखिएपछि त्यसको उपचारमा भरमग्दुर प्रयत्न गर्छन् र तेस्रा थरीहरू जता मल्खु उतै ढल्कु गर्छन् र नितान्तः निजी स्वार्थ सिद्ध गर्ने ध्याउन्नमा लाग्छन् र हरदम मौकाको ताकमा हुन्छन् । अहिले एमाले पार्टी देशव्यापीरूपमा भित्रभित्रै धमिराले ध्वस्त हुन लागेको छ । जबजको सार सौन्दर्यअनुसार काम नगर्दाको यो परिणाम हो । यो अदना लेखकले देशैभरिका गुप्त षडयन्त्र थाहा पाएको छ भने माथिबाट हेर्दा पार्टीभित्र के–कति विकृति होलान् ? विद्या भण्डारीकै भनाइअनुसार पार्टीभित्रको लामो समयको अनुभवबाट आफूलगायत नेताले धेरै सिकेको बताएकै छिन् । अर्थात् पार्टीभित्र कस्ता–कस्ता खालका खेलखाल, जालझेल र षडयन्त्र हुन्छन् भन्ने विद्याले आफैँले थाहा पाएको बताएकी छिन् । पार्टी केन्द्रको सचिवालयमा भावी अध्यक्षका बहुप्रचारित दाबेदारले विद्यालाई सक्रिय राजनीतिमै आउन नदिने प्रावधान विधानमा राख्न जोडबल गरेको कुरा त खुलस्त नै भयो । यो खुल्ला समाज हो । गोप्य कुरा पनि खुल्छ र खुल्नुपर्छ । बेलैमा खुल्यो र खुलाइयो भने कोही पनि टोपबहादुर बन्दैन, कसैले पनि माधवकुमार नेपाल हुन पाउँदैन । जमदग्निका टाउकाले जबज बेचेर पनि आफ्नो शान र मानको पगरी गुत्न पाउँदैन । त्यसैले जननेता मदन भण्डारीले जनताको पार्टी एमालेलाई जनताले देख्न, सुन्न, बुझ्न, छाम्न र महसुस पाइने बनाउनु पर्छ भनेका हुन् । पार्टीका नाममा गुप्त षडयन्त्र र तिकडमबाजी गर्ने कुराको भण्डारीले सख्त विरोध गरेका हुन् । उनले राम्रो काम राम्रै तरिकाले गर्नुपर्छ भन्नुको सार पनि त्यही हो ।
साधुले सबैलाई साधु देख्छ । एकोहोरो र साह्रै सोझा साधु हुँदा चोरले पार्टीमा चौतारो बनाउन बेर लगाउँदैन । विद्या भण्डारीले समयको पदचाप बुझेर आफू सक्रिय राजनीतिमा आउन बाध्य भएको बताएकी हुन् । पदचापका लाक्षणिक र व्यञ्जनार्थ हुन्छ । तर, अहिले त खुल्लम खुल्ला विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आएपनि अनेक कल, छल र बल गरेर मियोका रूपमा उभिनै नदिने षडयन्त्र भइरहेको देखिन्छ । नत्र महाधिवेशनअघि नै स्वार्थी तत्वहरू भाँडभैलो गरिरहेका छन् भने कोही कोहीबाट पार्टी अध्यक्ष हुन खोज्दै छन् भन्दै तिनलाई ठेगान लगाउने निर्देशन दिनुपर्ने थिएन । यसरी न्यून चेतका युवा विद्यार्थीलाई जिम्मेवार नेताले उचाल्नु पर्दैनथ्यो । विद्या भण्डारी कुनै पद, प्रतिष्ठा र उच्च ओहदाको चरम आकांक्षी होइनन् भन्ने कुरा पुष्टि हुन्छ । उनले केही समय पहिले नै पार्टी उपाध्यक्ष रहेकी आफूलाई राष्ट्रपति बनाएपछि पार्टीको नेतृत्व निर्माण अनुकूल हुने आकलन गरेको बताएकी थिइन् । खै त फाउन्डेसन लगायतका कार्यक्रमहरूमा पार्टी अध्यक्षका गुणको विद्याले भित्री हृदयबाट तारिफ नै गर्ने गरेको देखिन्छ । तर, त्यस गरिमामय गोष्ठीमा अध्यक्षको प्रस्तुतिबाट आम नेता र कार्यकर्ता दुःखित देखिएका छन् ।
विद्या भण्डारी पार्टी र नेतृत्वका हरकतबाट दुःखित भएको उनको अभिव्यक्तिका क्रममा प्रकट भयो । उनी बोल्दा बोल्दै भावुक बनिन् र भक्कानिइन् । सरदरले विद्या प्रिय पतिको सम्झना भन्ने मात्र सम्झे होलान्, तर यति निष्कलंक देश र जनताका सर्वोपरि हितमा केवल सेवा भावले प्रतिबद्ध सिद्धान्तका प्रणेता मदनलाई आजका दिनमा पनि नकारात्मक दृष्टिकोण राखेको सुनेर र बुझेर विद्या भण्डारी अत्यन्त भावुक भएकी हुन् । निर्दोष र निरपराधमाथि अत्याचार हुँदा दुःखित हुने मानिस यस धर्तीमा छन् । गहन ज्ञान र उच्च स्तरको विद्वत्ताभन्दा विवेक महान् हो भनेर हजार बार बखान गर्नेको विवेक हराउन लागेको देख्दा यो लेखक आफैँ भारी सरममा परेको छ । कुनै पनि खाले आश त्रासमा नपरी बोल्नेहरूले बोल्छन् । र, आवश्यक प¥यो भने असाध्यै रोग निवारण गर्नेगरी पनि बोल्छन् । आन्दोलनका रक्षा कवचहरू बोलाको बोली र मौकाको काम गर्छन् ।
स्वार्थका भकारीहरू जोखाना हरेर बस्छन्, धार्नीको टाउको मात्र हल्लाउँछन् । एमालेमा हाल क्रिया र प्रतिक्रिया विहीन पशुवत् मित्र मण्डली तयार गर्न खोजिएको देखिन्छ । अलि कति पनि सुझाव सल्लाह दिन खोजियो भने कारबाहीको भागीदार बन्नुपर्ने स्थिति रहेको छ । विद्याले आफ्नो व्यक्तिगत महत्वाकांक्षा छैन, पार्टीभित्रका अनेक उतार बढवा र गुप्त गतिविधिबाट आफू जानकार रहेको र परिपक्व भएको मन्तव्यका क्रममा बताइन् । उनले जबजको सार तत्व उल्लेख गरिन् । त्यो सामाजिक सांस्कृतिक रूपान्तरणको गम्भीरतम् सवाल हो । यसमा चरम बेवास्ता गर्दा सामन्तवादी सांस्कृतिक माहौलमा पार्टी फसेको हो । विद्याले अहिले आंशिक र मात्रात्मक उपलब्धि हासिल भएका छन् भन्दै चुरो भनेको रूपान्तरण हो र यसका अभावमा सतिसाल ढल्नु स्वाभाविक हुन्छ । यही दूरगामी ध्येय र उद्देश्य राखेर मात्र विद्या भण्डारी सक्रिय राजनीतिमा आउन बाध्य भएकी हुन् ।
विद्याका अनुसार सतही कुरामा मक्ख पर्ने हो मदनको सपना, सामाजिक सांस्कृतिक रूपान्तरणको प्रक्रिया सफल पार्ने उद्देश्यले बाटो बिराउनेछ । विद्याको उद्देश्य उच्च ओहदा, आयआर्जनमा मात्र मक्ख पर्ने होइन । उनले मदनको निष्ठा, समर्पण, वैचारिक स्पष्टता र जनउत्तरदायी व्यवहार, गुणहरूको अनुसरण गर्ने कुरालाई खास ख्याल नगरेमा असन्तुष्टि देखिन्छ । त्यसैले उनले कुरा र काम तथानाम नारा र नतिजाबिचको अन्तर घटाउने, भविष्यप्रति जनताको विश्वास सुदृढ पार्ने, अभियानमा कटिबद्ध हुनु पर्ने मन्तव्यमा उल्लेख गरिन् । विद्याका अनुसार सामान्य सुधार मात्र गरेर हुन्न गुणात्मक परिवर्तनलाई पनि सँगै लैजानु पर्छ ।