२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

गाउँका समस्या कसले बुझ्ने ?

shivam cement
२०८२ असार २२ गते ०६:००
गाउँका समस्या कसले बुझ्ने ?

–रूपा अर्याल

गाउँको माटो, खेतबारी, रित्तिँदो बस्ती, धमिलिँदो सपना र उकुसमुकुस जिन्दगी—यिनै हुन् नेपाली गाउँको हाल । तर, ती गाउँका समस्या कहिले कसैले सुन्न खोजेका छन् त ? गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यको अभाव, सडकको नाउँमा धुलो, बिजुलीको नाउँमा अन्धकार, तलबको नाउँमा श्रम शोषण— यी समस्या गाउँका साझा कथाहरू जस्तै भइसकेका छन् । तर, यी कथा कसले पढ्छ ? कसले बुझ्छ ?

नेपालको समग्र समाजमा राजनीतिक चेतना र जनप्रतिनिधिको पहुँच बढे पनि गाउँका कुरा अझै पनि उपेक्षित छन् । गाउँ विकासको प्राथमिक तह हो भन्ने कुरा हरेक बजेट भाषणमा दोहोरिन्छ, तर योजनाहरू शहर केन्द्रित रहन्छन् । योजनाहरू बनाउनेहरूसँग गाउँको पीडा बुझ्ने संवेदना छैन, न त उनीहरूलाई त्यहाँ पुगेर समस्या देख्ने फुर्सद नै छ ।

एकातिर, गाउँका युवाहरू श्रम बेच्न साउदी, कतार, मलेसिया पुगिरहेका छन्, अर्कोतिर गाउँमा बाँकी रहेका बृद्ध, महिला र बालबालिका दैनिक जीवन चलाउन संघर्षरत छन् । गाउँमा सस्तो श्रम उपलब्ध छ, तर उत्पादनको ग्यारेन्टी छैन । कृषि उपजको उचित मूल्य छैन । बजारसम्म पहुँच छैन । सरकारी अनुदान कागजमै सीमित छ । अनि पनि गरिब किसानसँग आधुनिक प्रविधि अपनाउन आग्रह गरिन्छ । कसरी ? कुन स्रोत र कुन भरोसामा ?

गाउँका विद्यालयहरू अझै पनि न्यून शैक्षिक गुणस्तरका कारण शिक्षित जनशक्ति उत्पादन गर्न असमर्थ छन् । शिक्षकहरू समयमै हाजिर हुँदैनन्, पाठ्यक्रम समयमा सकिँदैन र शिक्षणशैली परम्परागत ढर्राकै हुन्छ । कतिपय ठाउँमा विद्यालय भवन छ, तर शिक्षक छैनन्, शिक्षक छन्, तर विद्यार्थी छैनन् । शिक्षा त्यही हो, जहाँ पुस्ताको भविष्य निर्माण हुन्छ, तर गाउँका बालबालिकाले त्यो आधार नै पाएका छैनन् ।

स्वास्थ्य सेवा झनै दयनीय छ । औषधि छैन, डाक्टर छैनन्, सुविधा छैन । प्रसूति सेवा नभएर महिलाहरूले बाटोमै ज्यान गुमाइरहेका छन्, तर स्वास्थ्य केन्द्रमा ताला लागिरहेको छ । कहिलेकाहीँ बिरामी लिएर मोटरसाइकलमा घण्टौको यात्रा गर्नुपर्ने बाध्यता अझै बाँकी छ । यसरी रोग लागेपछि भाग्य र भगवान भरोसा गर्नु बाहेक अरु उपाय छैन ।

सडक, खानेपानी, सञ्चार, बिजुली— यी आधारभूत सेवाहरू पनि अझै गाउँमै पुगिसकेका छैनन् । सडक निर्माणका नाममा वर्षौंदेखि अलपत्र परेका ग्राभेल बाटाहरू छन्, जसले वर्षामा हिलो र हिउँदमा धुलो उडाउँछ । खानेपानीका पाइपलाइन तानेका छन्, तर पानी कहिले आउँछ भन्ने ग्यारेन्टी छैन । बिजुलीका पोल गाडिएको देखिन्छ, तर बत्ती बाल्ने काम कहिले हुन्छ थाहा छैन ।

यति समस्याका बिच पनि गाउँका जनताले बाँच्ने प्रयास गरिरहेका छन् । उनीहरू मेहनती छन्, धैर्यवान छन्, देशप्रेमी छन् । तर, उनीहरू आवाजहीन छन् । उनीहरूको आवाज राजधानीसम्म आइपुग्दैन । जनप्रतिनिधिहरू चुनावको बेला गाउँ पुग्छन्, नारा दिन्छन्, झूटो सपना बाँड्छन्, तर जितेपछि सम्पर्कविहीन हुन्छन् । गाउँका समस्याको हल गाउँमै सम्भव हुन्छ भन्ने बुझेका बिरलै नेता वा कर्मचारी भेटिन्छन् ।

गाउँका समस्या बुझ्न पहिलो शर्त हो– गाउँ पुग्न । त्यहाँको माटो चाल्नुपर्छ, त्यहाँको मान्छे भेट्नुपर्छ, उनीहरूको पीडा आफ्नै जस्तो महसुस गर्नुपर्छ । केवल रिपोर्ट हेरेर वा डाटा विश्लेषण गरेर होइन, आत्मीयता र अनुभूतिका आधारमा मात्र गाउँ बुझिन्छ । गाउँ बुझ्ने हो भने शहरले गाउँलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ । नत्र गाउँकै लागि भनेर बनाइने नीति सधैँ कागजमै सीमित रहनेछ ।

विकासको मेरुदण्ड गाउँ हो, तर त्यो मेरुदण्ड भाँचिएको छ । सुधार्न आवश्यक छ, सच्चिएर हेर्न आवश्यक छ, राज्यको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । नत्र भने ‘समृद्ध नेपाल’ भन्ने नारा गाउँको कानमा ठटिँदैन, किनभने गाउँ अझै पनि अभावमै डुबिरहेको छ । गाउँका समस्या बुझ्न समय दिनुपर्ने छ । केवल राजधानीमा बसेर देश हाँक्ने सपना हेर्नेहरूले होइन, गाउँको धूलो खाँदै, पसिना बगाउँदै, जनताको बीचबाट उठ्नेहरूबाट मात्र समाधान सम्भव छ । देश त गाउँबाटै बन्छ, तर जबसम्म गाउँ बुझ्ने नेतृत्व हुँदैन, तबसम्म गाउँका समस्या कसले बुझ्ने ? यही प्रश्न झुण्डिइरहन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise