२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

अमेरिकी दुस्साहस र मध्यपूर्वको फेरिँदो नक्सा

shivam cement
२०८२ असार १९ गते ०६:०५
अमेरिकी दुस्साहस र मध्यपूर्वको फेरिँदो नक्सा

–राजन तिमिल्सिना

इरान र अमेरिकी–इजरायली गठबन्धनबिचको द्वन्द्व कुनै आकस्मिक घटना होइन, यो दशकौँ पुरानो ऐतिहासिक विगतको निरन्तरता हो । सन् १९५३ मा सीआईएले इरानका निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्देकलाई सत्ताबाट हटाएर शाह रेजा पहलेवीलाई पुनः गद्दीमा राखेपछि, इरानी जनमानसमा साम्राज्यवादी हस्तक्षेपको विरुद्ध गहिरो असन्तोष अंकित भयो । त्यसपछि सन् १९७९ मा इस्लामिक क्रान्तिपछि जब इरानमा अमेरिका–समर्थित शाह शासन ढल्यो, अमेरिका र इजरायलका लागि त्यो ‘पश्चिमी प्रभुत्वमाथिको ठूलो धक्का’ साबित भयो ।

यही घटनापछि इरानमाथि विविध प्रतिबन्ध, आर्थिक नाकाबन्दी, गुप्त अपरेसन, र वैज्ञानिकहरूको हत्या हुँदै आए । इजरायलले बारम्बार इरानको आणविक अनुसन्धानलाई ‘खतरा’को संज्ञा दिँदै अन्तर्राष्ट्रिय सहयोगको आडमा आक्रामक रणनीति अपनायो । तर, इरानले आफूलाई सधैँ सम्प्रभु राष्ट्रको रूपमा परिभाषित गर्‍यो– न झुक्ने, न बिक्ने । यो लामो संघर्ष विचार र स्वार्थबिचको हो– एकातिर साम्राज्यवादी सत्ता संरचना र अर्कोतिर आत्मनिर्भरता, प्रतिरोध र न्यायप्रतिको आस्था । अहिले भइरहेको आक्रमण त्यही पुरानो संघर्षको पुनरावृत्ति हो– तर यो पटक संसार अलिक फरक छ ।

साम्राज्यवाद, पुँजीवाद र धर्म–राजनीतिक गठबन्धनहरूले सधैँ मानव सभ्यतामा हिंसा, युद्ध र असमानता बोकेका छन् । यिनै संरचनाहरूको सामुन्ने आज फेरि एउटा राष्ट्र उभिएको छ– इरान । जसले केवल सैन्यरूपमा होइन, वैचारिक र सांस्कृतिक रूपमा पनि पश्चिमी साम्राज्यका विरुद्ध आफ्नो प्रतिरोधको झन्डा फहराएको छ ।

सन् २०२५ को १३ जुनबाट अमेरिकी–इजरायली गठबन्धनले इरानमाथि गरिएका आक्रमणहरू कुनै सैन्य अभ्यास मात्र थिएनन्, ती साम्राज्यवादी शक्ति सन्तुलनलाई पुनर्स्थापित गर्न गरिएको रणनीतिक प्रयास थिए । फोर्दो, नातान्ज र इस्फहानका आणविक केन्द्रहरूमा लक्षित हवाई बमबारी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धोन्मुख भाषणहरू अनि पश्चिमा मिडियाले निर्माण गरेको ‘इरान खतरनाक छ’ भन्ने भ्रम, यी सबैले एउटै कुरा संकेत गर्छ– पुँजीवादी साम्राज्यको नियन्त्रणबाट बाहिर निस्किन खोज्ने हरेक राष्ट्रलाई तह लगाउने योजना ।

तर, यथार्थ फरक छ । इरानले प्रतिरोध गर्‍यो– न केवल मिसाइल मार्फत, जनआन्दोलनमार्फत पनि । राजधानी तेहरानदेखि होरमोजगानसम्म, युवा, वृद्ध, महिला, श्रमिक, बुद्धिजीवी, धार्मिक र धर्मनिरपेक्ष–सबै सडकमा उत्रिए । यो केवल राष्ट्रवाद थिएन, यो स्वतन्त्रताको रक्षाका लागि उठेको वर्गीय क्रान्ति थियो । हामीले बुझ्नुपर्छ, यो टकराव अब केवल इरान र अमेरिका–इजरायल होइन, यो टकराव हो नयाँ विश्व व्यवस्थाको संघर्ष, जहाँ साम्राज्य–केन्द्रित ध्रुवीकरण विरुद्ध जन–केन्द्रित प्रतिरोध उठेको छ ।

आज जब पुँजीवादी साम्राज्यवादले संसारलाई आफू अनुकूल ढाल्ने दुस्साहस गरिरहेको छ, त्यही बेला एउटा सार्वभौम राष्ट्रले साहसपूर्वक घोषणा गरेको छ –हामी झुक्दैनौँ । इरानको त्यो घोषणा केवल भाषिक नारा थिएन, त्यो थियो आत्मरक्षा, चेतावनी र वैचारिक विद्रोहको सामूहिक स्वर थियो । अमेरिकी–इजरायली गठबन्धनले छेडेको ‘अपरेसन मिडनाइट ह्यामर’ कुनै सैन्य अभ्यास मात्र थिएन, त्यो थियो, पश्चिमी शक्तिको ऐतिहासिक अहंकारको पुनरावृत्ति । फोर्दो, नातान्ज र इस्फहानमाथि गरिएको आक्रमणले एउटा कुरा स्पष्ट गर्‍यो – पश्चिमले अन्तर्राष्ट्रिय कानुनको तोडमोड गरेर पनि आफूलाई नै न्यायको मालिक सम्झन्छ ।

तर, यो पटक खेल एकपक्षीय रहेन । इरानले आफ्नै ढंगमा जवाफ दियो, ‘अपरेसन ग्ल्याड टिडिंग्स अफ विक्ट्री’ मार्फत । कतारस्थित अल–उदीद अमेरिकी सैन्य अखडामाथिको यो आक्रमण सटीक, सावधानीपूर्ण र सन्देशमूलक थियो । न नागरिकको मृत्यु, न सर्वसाधारणमा त्रास । इरानको यो आत्मरक्षा केवल हवाई प्रहार थिएन, यो थियो राजनीतिक चेतना र रणनीतिक सुझबुझको अनौठो मिश्रण । यो भिडन्तमा उल्लेखनीय पक्ष हो– चीन र रुसको प्रस्ट ऐक्यबद्धता । चीनले यस आक्रमणलाई ‘क्षेत्रीय अस्थिरता सिर्जना गर्ने दुस्साहस’ भन्दै भत्र्सना गरेको छ । रूसले यसलाई ‘साम्राज्यवादी आक्रमण’ भन्दै इरानको आत्मरक्षालाई जायज ठहर गरेको छ । यी दुवै देशले संयुक्त राष्ट्रसंघको विशेष आपतकालीन सत्र माग गरेका छन्, जहाँ युद्धको रोकथाम, प्रतिरक्षा अधिकार र अमेरिकी–इजरायली जिम्मेवारीको माग उठाइएको छ । यो कूटनीतिक मोर्चामा इरानका लागि मात्र होइन, विश्व जनसमुदायका लागि पनि एक महत्वपूर्ण मोड हो, जहाँ ध्रुवीकरण–विरोधी र प्रतिरोधी राष्ट्रहरूको नयाँ मोर्चा खडा हुँदै छ ।

यो आक्रमण पश्चिमी शक्तिको निष्ठुरता, दोहोरो मापदण्ड र साम्राज्यवादी नियतको प्रत्यक्ष प्रतीक हो । अमेरिकाले आफ्ना हजारौँ आणविक हतियारलाई संरक्षण गर्न खोज्छ, तर इरानको ऊर्जा अनुसन्धानलाई ‘खतरा’को नाममा ध्वस्त गर्न खोज्छ । यस दोहोरो चरित्रले विश्वसामु पश्चिमी अख्तियारहरूको असल अनुहार प्रकट गरिदिएको छ । इरानमाथिको इजरायल–अमेरिकी आक्रमणले केवल सैन्य प्रतिक्रिया मात्र निम्त्याएन, यसले जनताको विवेक, स्वतन्त्रताको चेतना र साम्राज्यवादविरुद्धको क्रान्तिकारी भावनालाई पनि जागृत गर्‍यो । यो प्रतिक्रियाको तरङ्ग केवल तेहरानको सीमाभित्र सीमित रहेन, यसले एसिया, अफ्रिका, युरोप र अमेरिका हुँदै विश्वव्यापी जनमतलाई इरानको पक्षमा उभिन बाध्य बनायो ।

काठमाडौं, पोखरा, विराटनगर, भैरहवालगायत सहरहरूमा विद्यार्थी, बुद्धिजीवी, मानवअधिकारकर्मी, वामपन्थी कार्यकर्ता तथा स्वतन्त्र युवाहरूले इरानको आत्म रक्षात्मक कारवाहीको समर्थन गर्दै र्‍याली, मैनबत्ती जुलुस र शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेका थिए । ‘साम्राज्यवाद मुर्दावाद’, ‘इरानसँग ऐक्यबद्धता’ जस्ता नारा लेखिएका ब्यानरहरू बोकेर युवाहरू सडकमा ओर्लिए । यो केवल समर्थन थिएन, यो साम्राज्यवादविरुद्धको आत्म चेतनाको अभिव्यक्ति थियो । ब्रिटेनको लन्डन, जर्मनीको बर्लिन, फ्रान्सको पेरिस र नर्वे, नेदरल्यान्ड्सलगायत देशहरूमा आप्रवासी समुदाय, शान्तिवादी संघसंस्था र राजनीतिक कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूलाई इजरायल–अमेरिकाविरुद्ध कारबाहीको माग गरेका थिए । 

यी प्रदर्शनहरू केवल समर्थनका क्रियाकलाप थिएनन्, यी थिए भविष्यको नयाँ शक्ति सन्तुलन निर्माणतर्फको संकेत । आज जब पश्चिमी सभ्यता आफ्नै स्वार्थ, पाखण्ड र नाफामुखी दृष्टिकोणमा जकडिएको छ, तब पूर्वका राष्ट्रहरूले – सांस्कृतिक, राजनीतिक र आध्यात्मिक दृष्टिले वैकल्पिक विश्व दृष्टिकोण प्रस्तुत गर्न थालेका छन् । इरानमाथिको आक्रमण, त्यसको विवेकपूर्ण प्रतिउत्तर, चीन–रुसको समर्थन र विश्वव्यापी जनप्रतिक्रियाले एक कुरा स्पष्ट गरेको छ, साम्राज्यवाद अब निर्विवाद छैन । नयाँ इतिहास फेरि लेखिँदै छ ।

सन् २०२५ को यो ऐतिहासिक मोडमा इरानमाथिको अमेरिकी–इजरायली आक्रमण केवल युद्धको एउटा घटना होइन, यो साम्राज्यवादविरुद्धको नयाँ युगको उद्घोष हो । जब बमहरू झर्दै थिए, त्यही समय लाखौँ जनताहरू संसारभर उठ्दै थिए– हातमा ब्यानर, मुटुमा प्रतिरोधको आगो र चेतनाको ज्योति लिएर ।

यतिबेला नाटकीय रूपमा अमेरिकाले युद्ध बिराम घोषणा गरेको छ । सँगै, धम्की पनि दिइरहेको छ– युद्ध बिराम गरेनौ भने विनाश हुन्छौ । आफैँले युद्धका सबै नियम उल्लंघन गर्दै आफैँले युद्ध बिरामको घोषणा किन गर्‍यो ? स्पष्ट छ, अमेरिका नाफामा काम गर्छ । उसले घाटा देखेपछि ‘ब्याक’ भयो । एकातिर विश्व शक्ति सन्तुलन उसको प्रतिकुल हुन पुग्यो भने अर्कोतिर युद्धको क्षति सबैभन्दा बढी आफैँलाई पर्ने स्थिति बन्यो । अफगानिस्तानबाट फिर्ता भएको उदाहरण पनि विश्वले देखेकै छ । अहिले इरानबाट फिर्ता भएको अमेरिका, फेरि दुस्साहसमा नउत्रिएला भन्ने अनुमान गर्न सक्छौँ । किनकि अबका कदम उसैका निम्ति फाइदाजनक हुनेछैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise