रुकुम पूर्व : रुकुम पूर्वको चौँरी लेक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । कुनै समय कमै मात्रामा चासो पाइरहेको यो लेक अहिले पर्यटकीय गन्तव्यको रूपमा परिचित हुँदै गएको हो ।
चार हजार मिटरको उचाइमा अवस्थित चौँरी लेक भूमे गाउँपालिका–१ र पुथा उत्तरगंगा गाउँपालिकाको सिमाक्षेत्रमा पर्दछ । रुकुमपूर्व र बाग्लुङको सिमानास्थित पातिहाल्नेबाट बिहानै हिँडेर लेक पुग्न सकिन्छ र बेलुकासम्म फर्कन सकिन्छ । ढोरपाटन शिकार आरक्षको पश्चिम क्षेत्रमा पर्ने चौँरी लेकबाट सिस्ने, पुथा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
लेकको वरिपरिको पाटनबाट पुथा उत्तरगंगाका विभिन्न गाउँहरू, रोल्पाको जलजला, जन्तरे, कोठी भिर लगायत प्यूठानका भूभाग पनि सजिलै देख्न सकिन्छ ।
हिउँदमा हिउँले ढाकिने चौँरी लेकमा वर्षायाममा भने रंगीचंगी फूलहरू फुल्छन् । असारदेखि भदौसम्म यहाँ भेडी गोठहरू बस्ने चलन छ । यस अवधिमा बाख्रा, गाई, भैंसी, घोडा र भेडाका बगालले चौँरी लेकको पाटन झनै मनमोहक देखिन्छ ।
पशु चरनका लागि उपयुक्त मानिने यस क्षेत्र बुकी प्रजातिका वनस्पतिले पनि भरिपूर्ण छ । प्राकृतिक वनस्पति, फूल र पाटनले गर्दा चौँरी लेक वर्षायाममा विशेष आकर्षक हुन्छ ।
प्राकृतिक सौन्दर्यले भरिएको चौँरी लेकको पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै स्थानीय सरकार सक्रिय भएको छ । भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ र वडा अध्यक्ष मनकाजी पुनको पहलमा चालु आर्थिक वर्ष २०८१/८२ मा पर्यटन डिभिजन कार्यालय बाँके (कोहलपुर)को सहयोगमा करिब १० लाख रुपैयाँको बजेटमा ५ मिटर अग्लो जलकी, सिढी र फिल्ड निर्माण गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि पनि चौँरी लेकको प्रवर्द्धनका लागि प्रदेश सरकारबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष पुनले जानकारी दिए ।
पर्यटकको सुविधाका लागि भूमे गाउँपालिकाले लेकसम्म पुग्ने मोटर बाटो निर्माण गरिसकेको छ । चौँरी लेक जान चाहने पर्यटकहरू साबिकको दिन पातिहाल्ने भञ्ज्याङमा बास बस्न सक्ने व्यवस्था छ । ३१०० मिटरको उचाइमा रहेको पातिहाल्नेमा खानपिन र बासको सुविधा भएको होटलहरू छन् । यहाँबाट कोठीभिर, जन्तरे, तिलाचन हुँदै ढोरपाटन सजिलै पुग्न सकिन्छ ।
समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको रुकुम पूर्वमा धार्मिक र पर्यटकीय गन्तव्य प्रशस्त छन् । तर प्रचारप्रसारको अभाव र पूर्वाधारको कमीका कारण धेरै क्षेत्र अझै ओझेलमा परेका छन् । पछिल्लो समय स्थानीय तहको सक्रियता बढेसँगै पर्यटकीय सम्भावना भएका क्षेत्रको संरक्षण र प्रवर्द्धनमा चासो देखिएको छ ।