२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइको समस्या

Nada
२०८१ असार २९ गते १३:२०
Shares
नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइको समस्या

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनः निर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ ।

ncell

जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाघाट–दमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नतिका क्रममा डिइँको डाडा क्षेत्रमा बासकोटे खोलाबाट सञ्चालित उपल्लो खनियाघाट सिँचाइ आयोजनाको २५ मिटर लामो नहर पूर्ण रूपमा भत्काइएको थियो । नहर मर्मत नगर्दा स्थानीय कृषकको पाँच सय रोपनीभन्दा बढी खेत यसवर्ष बाँझै रहने भएको छ । 

भत्काइएको नहर पुनः निर्माण नहुँदा धुले बीउ राखेको भन्दै धान रोपाइँ पनि प्रभावित भएको बासकोटे खोला उपल्लो खनियाघाट सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष विष्णु जिसीले बताए । ‘ठेकेदारले नहर बनाउने सहमतिमा भत्काएका हुन्, अहिले सडक बनाएर गए तर नहर बनाएनन्’, उनले भने, ‘यसअघिका वर्षमा पानी बीउ राख्ने गरेका थियौँ । यसपालि सिँचाइ नहुँदा धुले बीउ राखिएको छ । सिँचाइका लागि नहर नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।’ 

यहाँका ३३ धुरी कृषकको पाँच सय रोपनी क्षेत्रफलको खेतबारीमा सिँचाइको अभाव भएको अध्यक्ष जिसीले जानकारी दिए। विगतका वर्षमा असारको अन्तिम सातामा उपल्लो खनियाघाटमा आधा रोपाइँ हुने गरेको थियो । विसं २०६१ मा मार्ग खोलिएको खनीयाँघाट–डमुवाखोला–नाग्लीवाङ सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि गत मङ्सिरमा साहना–सक्षम निर्माण कम्पनीले रु एक करोड ३३ लाख ५५ हजार दुई सय १८ मा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि चार मिटर फराकिलो रहेको सडकलाई विस्तार गरेर छदेखि सात मिटर फराकिलो बनाइनुका साथै छ सय ६४ मिटर ढलान र नाली, एक सय पाँच घन मिटर पलम पर्खाल, एक सय ३० घन मिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पीडित कृषकहरूले केही दिनअघि वडा कार्यालय र गाउँपालिकामा नहर मर्मत गरी सिँचाइ नियमित गराउन अनुरोध गर्दै निवेदन दिएका थिए ।

 सडकले नहरमा पुर्‍याएको क्षति अनुगमनका लागि गएका जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य र वडाध्यक्ष हरिविकास जिसीलाई निर्माण कम्पनीका प्रतिनिधिले पाइपलाइन जडान गरेर सिँचाइका लागि पानी आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि काम हुन नसकेको कृषकले गुनासो गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर