२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

कोशी सरकारले अपांगता भएकाहरूको बजेट कटौती गरेको गुनासो

Nada
जुनु भट्टराई
२०८२ असार ९ गते २१:१७
Shares
कोशी सरकारले अपांगता भएकाहरूको बजेट कटौती गरेको गुनासो

विराटनगर : कोशी प्रदेशमा अपांगता भएका व्यक्तिहरूको पुनःस्थापना कार्यक्रम बजेट अभावका कारण ठप्प भएको भन्दै राष्ट्रिय अपांग महासंघ–नेपाल कोशी प्रदेश कार्यालयले असन्तुष्टि जनाएको छ । 

ncell

महासंघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी बजेट अभावका कारण काम रोकिएको र सरकारले गम्भीर ध्यान नदिएसम्म शान्तिपूर्ण आन्दोलन सुरू गरिने जानकारी दिइएको छ । 

महासंघका प्रदेश सचिव गोपालमान थापाले विगतमा करुणा फाउण्डेसनमार्फत ७३ वटै स्थानीय तहमा सञ्चालन हुँदै आएको अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम चालु वर्षमा बजेट विनियोजन नहुँदा अन्योलमा परेको बताए । 

‘यो कार्यक्रम स्थायी आवास, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र स्वरोजगारको आधार थियो,’ उनले भने, ‘अब बजेट नहुँदा यी सबै सेवाबाट अपांगता भएका नागरिक वञ्चित भएका छन् ।’

पत्रकार सम्मेलनमा  महासंघले  संघीय सरकारको बजेटमार्फत २०७९/८० मा सुरू गरिएको सातवटा पुनःस्थापना केन्द्र कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र पछिल्ला वर्षहरूमा बजेट झनै घट्दै गएको गुनासो समेत व्यक्त गरेको छ । 

२०८१/८२ मा न्यून बजेटकै कारण हजारौ सेवाग्राही प्रभावित भएका भन्दै आर्थिक वर्षको लागि ११ करोड विनियोजन भएको बजेटमा अपुग रहेको ३ करोड १३ लाख ४३ हजार ७४६ रुपैयाँ तत्काल उपलब्ध गराउन माग गरिएको छ । 

संघले प्रदेश सरकारसँग  पुनःस्थापना कार्यक्रमका लागि आवश्यक बजेट तुरुन्तै विनियोजन गर्न, ७३ स्थानीय तहमा पुनःस्थापना कार्यक्रम कार्यान्वयन गर्न कन्सर्न फाउण्डेसनलाई पुनः जिम्मेवारी दिन, वैकल्पिक योजना तयार पारेर सेवा सुचारु गर्न, स्थानीय तह र संघसंस्थाबीच समन्वय गरी सेवा दिने वातावरण बनाउन, शिक्षा, रोजगार, स्वास्थ्यलगायत हक–अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने माग राखिएको छ । माग पूरा नभए मंगलबारबाट शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । 

महासंघले संविधान, अन्तर्राष्ट्रिय महासन्धि र दिगो विकास लक्ष्यअनुसार अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले जिम्मेवारीपूर्वक कार्यक्रम निरन्तरता दिनुपर्ने माग समेत राखेको छ ।

ताजा खबर

सम्बन्धित खबर