२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

कटहरीमा २ अर्ब लगानीमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइँदै

Nada
जुनु भट्टराई
२०८२ जेठ १९ गते २०:३८
Shares
कटहरीमा २ अर्ब लगानीमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइँदै

विराटनगर : मोरङको कटहरी गाउँपालिका–२ हल्दिबारीमा जीवन विकास समाजको पहलमा निर्माण सम्पन्न भएको २०० शय्याको ‘जीवन विकास सामुदायिक अस्पताल तथा प्राविधिक शिक्षा प्रतिष्ठान’ संचालनमा ल्याइने भएको छ । उक्त अस्पताल यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरी संचालनमा ल्याउन लागिएको हो । 

ncell

करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त अस्पताल पूर्वी नेपालकै सुविधासम्पन्न सामुदायिक अस्पतालमध्ये एक हो । 

उक्त अस्पतालले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज र सुलभ दरमा गुणस्तरीय सेवा दिने उद्देश्य राखेको सोमबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले बताए । 

उनले अस्पतालको सम्पूर्ण पूर्वाधार तयार भइसकेको समेत जानकारी दिए । ‘यो अस्पताल केवल उपचार केन्द्र होइन, सामाजिक न्याय र समानताको प्रतीक हो,’ अध्यक्ष मण्डलले भने, ‘हामीले ‘स्वास्थ्य सबैको अधिकार’ भन्ने भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले यो आयोजना अगाडि सारेका हौं ।’

नाफा वितरण नगर्ने अवधारणामा अस्पताल सञ्चालन

मण्डलका अनुसार उक्त अस्पतालमा १ अर्ब ३० करोड रुपैयाँ जीवन विकास समाजले लगानी गरेको छ भने ४२ करोड रुपैया बैंकबाट ऋण लिइएको छ । 

नाफा वितरण नगर्ने सामाजिक व्यवसायको अवधारणामा आधारित यो अस्पतालले सम्पूर्ण सेवा सहुलियत दरमा प्रदान गर्ने जनाइएको छ । 

उनले भने, ‘हामी नाफाका लागि होइन, समाजका लागि काम गरिरहेका छौं । यही सोचअनुसार अत्याधुनिक सेवा न्यूनतम शुल्कमा प्रवाह गर्नेछौं ।’

No description available.

विशेषज्ञ टोलीसहित अत्याधुनिक सेवा

अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकमार्फत दैनिक ओपीडी, पेनलेस डेलिभरी, जेनेरल तथा लेप्रोस्कोपिक शल्यक्रिया, डायलाइसिस, ल्याब सेवा, बालरोग, स्त्रीरोग, नाक कान घाँटी, आँखा उपचार लगायतका सेवा उपलब्ध हुने अध्यक्ष मण्डलले जानकारी दिए। अस्पतालमा २०० जनाभन्दा बढी दक्ष स्वास्थ्यकर्मी खटिने जनाइएको छ ।

‘अत्याधुनिक उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकसहित हामीले ग्रामीण क्षेत्रमै गुणस्तरीय सेवा दिने लक्ष्य लिएका छौं,’ मण्डलले भने ।

मेडिकल कलेज सञ्चालनको दीर्घकालीन योजना

२० विघा क्षेत्रफलमा फैलिएको अस्पताल परिसरलाई भविष्यमा मेडिकल कलेज सञ्चालन गर्न सक्ने गरी डिजाइन गरिएको छ । मण्डलका अनुसार आगामी वर्षहरूमा नर्सिङ तथा स्वास्थ्य विज्ञान शिक्षाका कार्यक्रम थपिँदै जानेछन् ।

जीवन विकास समाजले बि.सं. २०५४ सालमा मोरङकै अमाहीरियाटीबाट २४ घण्टे क्लिनिकको रुपमा स्वास्थ्य सेवा सुरु गरेको थियो । त्यसयता विगत तीन दशकदेखि समाजले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र वित्तीय पहुँचका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘हामी क्लिनिकबाट सुरु भएको यात्रालाई आज २०० बेडको अस्पतालसम्म ल्याउन सफल भएका छौं,’ मण्डलले भने, ‘अब यो अभियानलाई अझ फराकिलो बनाउँदै लैजानेछौं ।’

जीवन विकास सामुदायिक अस्पतालले आफूलाई सामाजिक अभियानको हिस्साका रुपमा प्रस्तुत गर्दै विपन्न वर्ग, महिला, वृद्ध, र ग्रामीण समुदायलाई लक्षित गरेर सेवा दिने जनाएको छ ।

‘यो अस्पताल केवल उपचार दिने होइन, सेवा र समानताको अभ्यास गर्ने अभियान पनि हो,’ अध्यक्ष मण्डलले भने, ‘हामी सबैका लागि सुलभ, गरिमायुक्त र भरोसायोग्य स्वास्थ्य सेवा प्रवाह गर्नेछौं ।’

uae

सम्बन्धित खबर