२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

राप्ती आँखा अस्पतालमा जल विन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत

Nada
२०८२ जेठ ८ गते १०:५०
Shares
राप्ती आँखा अस्पतालमा जल विन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत

दाङ : राप्ती आँखा अस्पताल रक्षा चौरले जल विन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जल विन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ । 

ncell

अस्पतालमा सहायक प्राध्यापक डा. रञ्जितकुमार शाहको आगमनसँगै केही दिनअघि जल विन्दुको विशेष उपचार सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै बिरामीहरू घर आँगनमै उपचार पाएको भन्दै खुसी भएका छन् । 

तुलसीपुर–१५ की ८३ वर्षीया जयमोती थरुनीले लामो समयपछि उपचार सेवा पाएपछि खुसी व्यक्त गरिन्। घरबारविहीन थरुनीले उपचारपछि नयाँ जीवन पाएको अनुभव भएको बताइन् ।

डा. शाहका अनुसार यहाँ बहिरंग सेवा (ओपिडी) लिन दैनिक जसो दुईदेखि तीन सय बिरामी आउने गरेका छन् । तीमध्ये पाँचदेखि सात जनामा जल विन्दुको समस्या देखिने गरेको छ । “जल विन्दु आँखामा दबाब बढेर दृष्टिमा असर पुर्‍याउने रोग हो । प्रारम्भिक अवस्थामा उपचार सुरु गरिएमा दृष्टि जोगाउन सकिन्छ तर धेरैजसो बिरामी ढिलो गरी अस्पताल आउने भएकाले दृष्टिमा स्थायी क्षति पुगिसकेको हुन्छ”, डा. शाहले भने ।

नेपालमा हालैको एक सर्वेक्षणअनुसार दुई दशमलव एक प्रतिशतभन्दा बढी जनसङ्ख्यामा जल विन्दुको समस्या देखिएको छ । डा. शाह धेरैलाई यसबारे थाहा नहुने, लक्षणको बेवास्ता गर्ने र अस्पताल ढिलो पुग्ने समस्या रहेको बताउँछन् । जल विन्दुको मुख्य लक्षणहरूमा दृष्टि धमिलो हुँदै जानु, बत्तीमा हेर्दा इन्द्रेणी रङ देखिनु, टाउको र आँखामा दुखाइ, वाकवाकी लाग्नुलगात रहेका उनले बताउँछन् । 

“यो रोग परिवारमा एक जनामा देखिएको खण्डमा अन्य सदस्यमा पनि हुने सम्भावना रहन्छ । साथै मधुमेह, उच्च रक्तचाप वा आँखामा चोटपटक लाग्दा पनि जल विन्दु हुने सम्भावना बढ्छ”, डा. शाहले भने, “राप्ती आँखा अस्पतालले आँखासम्बन्धी विविध उपचार सेवा दिँदै आएकामा जल विन्दु विशेषज्ञ सेवा पनि थपिएपछि यहाँका सेवाग्राहीलाई निकै राहत हुनेछ ।”

जल विन्दु भएका बिरामीहरूलाई काठमाडौँ वा अन्य ठाउँ जानुपर्ने बाध्यता अन्त्य भएपछि यसले दाङलगायत आसपासका जिल्लाका जनतालाई ठूलो राहत मिलेको छ ।

uae

सम्बन्धित खबर