२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

३६ लाखमा बनेको विद्यालय भवन २ वर्षदेखि प्रयोगविहीन

shivam cement
विनोद निगम
२०८१ चैत २३ गते १०:०६
३६ लाखमा बनेको विद्यालय भवन २ वर्षदेखि प्रयोगविहीन

नवलपरासीः पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१, रमपुरवा बड्की सुनरीमा पर्ने बाल शिक्षा निकेतन माध्यमिक विद्यालयको भवन २ वर्षदेखि प्रयोगविहीन छ। ३६ लाख रुपैयाँको लागतमा आफ्नै जग्गामा निर्माण सम्पन्न भएपनि आवश्यक पूर्वाधार अभावका कारण भवन अझै सञ्चालनमा आउन सकेको छैन।

विद्यालयका प्रधानाध्यापक सुनिल कुमार तिवारीका अनुसार विद्यालयमा विद्यार्थी सङ्ख्या बढ्दो छ। तर, नयाँ भवन निर्माण भए पनि आवश्यक पूर्वाधार नहुँदा शिक्षण कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ। भवन निर्माण सम्पन्न भएपनि पर्खाल लगाउन र भित्री संरचना बनाउन अझै बजेटको अभाव रहेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पटनावरका अनुसार विद्यालय भवनको करिब ७५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ। बाँकी भित्री संरचना तथा पर्खाल निर्माण सम्पन्न गर्न अझै केही समय लाग्ने अनुमान गरिएको छ।

विद्यालयको पुरानो भवनमा कक्षा कोठाको उचित व्यवस्थापन नभएपछि करिब २ किलोमिटर दूरीमा रहेको नयाँ जग्गामा भवन निर्माण कार्य थालिएको थियो। तर, २ वर्ष बितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन। विद्यालयमा प्राथमिक तहका कक्षाकोठामा डेक्स–बेन्चको अभाव यथावत छ भने खानेपानी र शौचालयको अवस्थासमेत दयनीय छ। तर, सम्बन्धित निकायको पर्याप्त ध्यानाकर्षण हुन सकेको छैन।

नयाँ भवन निर्माण गरिएको ठाउँमा गाउँपालिकाले पर्खाल निर्माणका लागि ३० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ भने प्रदेश सरकारले भित्री संरचना सम्पन्न गर्न १० लाख रुपैयाँ छुट्याएको छ। तर, काम सुस्त गतिमा अघि बढ्दा भवन पूर्ण रूपमा प्रयोगमा ल्याउन कठिनाइ भइरहेको छ। विद्यालय प्रशासनका अनुसार स्थानीय तथा प्रदेश सरकारको समन्वय र शीघ्र बजेट व्यवस्थापन भएमा मात्र विद्यालयको नयाँ भवन विद्यार्थीका लागि उपयोगी बनाउन सकिन्छ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise