२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य

Nada
२०८१ चैत १५ गते ०७:४८
Shares
अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य

काठमाडौँ : कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहेका छन् ।

ncell

सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उनले गम्भीरतापूर्वक लिन्छन् र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्छन् । हालै आयोजना गरिएको एक अन्तरक्रियामा अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने बताए ।

उनले भने, “चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटु ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मेहनत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको होजस्तो लाग्छ ।”

स्वास्थ्य शरीर, शान्त मानसिक अवस्थासँगै आफ्नो सोच ३७ वर्षको युवाजस्तो भएका कारण काम गर्ने ऊर्जा उनलाई प्राप्त हुन्छ । नकारात्मकता आफूमा रहन नदिएकै कारण उनले गर्ने कर्मले कलाकारितासँगै समाजमा एउटा स्थान बनाएको छ । उनीसँगै मह जोडीका म अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाएका कलाकार हुन् ।

रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गरेका अभिनेता आचार्यले नाटक नगरेको लामो समय भइसकेको छ । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटक उस्तै भएको अभिनेता आचार्यले बताए । “नाटक र प्रहसन उस्तै हो, खासै अन्तर छैन । किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन्, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ । त्यसकारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन”, उनले भने ।

उनले कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काखझैँ भएकाले यहाँ सिकिने कलाकारिता दिगो हुने अनुभव सुनाए । राष्ट्रिय नाचघरमा गुरु हरिप्रसाद रिमालसँग नाटक, कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै अभिनेता आचार्यले अभिनयमा रूचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे ।

“मैले गुरु रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकेँ, त्यहाँ मैले मदन दाइसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ । हामीले त्यो नेपालमा मात्र चार सयको हाराहारीमा मञ्चन गरेका थियौँ । हाम्रो अभिनयको सुरुआत नै रङ्गमञ्चबाट भएको हो”, उनले भने ।

उनले अभिनय गरेको पहिलो चलचित्र ‘कुमारी’ हो । उक्त चलचित्रमा कलाकार चाहिएको सूचना गोरखापत्र दैनिकमा देखेपछि अभिनेता आचार्यले आफू अभिनय गर्न इच्छुक रहेको निवेदन दिएका थिए । उक्त चलचित्रका निर्देशकको अगाडि एउटा चलचित्रको दृश्यलाई राम्रोसँग प्रस्तुत गरिएता पनि आफू उक्त भूमिकाका लागि छनोट नभएको अभिनेता आचार्यले बताए ।

स–साना भूमिकामा देखिए पनि उनले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने भूमिका प्राप्त गरे । त्यसपछि अभिनयमा सक्रिय रहेका अभिनेता आचार्यले अहिले पनि उस्तै रूपमा निरन्तर काम गरिरहेका छन् । आफैँ लेखक र निर्देशकसमेत रहेका अभिनेता आचार्य अरुका चलचित्रमा कलाकारका काम गर्न रुचाउँछन् ।

“अरुले निर्माण गर्नुभएको पात्रमा कलाकार भएर काम गर्न पाउँदा मलाई सहज महसुस हुन्छ, आफैँले लेखन वा निर्देशन गरेको पात्रलाई निर्वाह गर्दा अलि बढी मेहनत गर्नुपर्छ”, उनले भने । उनले अभिनय गरेको चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ आउँदो वर्ष विसं २०८२ मा प्रदर्शन हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर