२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

५० करोडको वैदेशिक रोजगार बचतपत्र जारी गरिने

Nada
२०८१ मंसिर ८ गते ०६:२५
Shares
५० करोडको वैदेशिक रोजगार बचतपत्र जारी गरिने

काठमाडौं : नेपाल सरकारले ५ वर्ष अवधि राखी ८ दसमलव ५ प्रतिशत ब्याज दरको ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट निष्कासन हुने ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्रको अवधि ५ वर्ष र ब्याज दर ८ दशमलव ५ प्रतिशत तोक्ने निर्णय भएको बताए । 

ncell

यसअघि वार्षिक १२ दशमलव ५ प्रतिशत ब्याज दर पाउनेगरी जारी वैदेशिक रोजगार बचतपत्र विक्री अलपत्र परेको  अवस्थामा पुनः ४ प्रतिशत कम ब्याज दरमा वैदेशिक रोजगार बचतपत्र विक्री खुला गर्ने निर्णय सार्वजनिक भएको हो ।

यूएई, मलेसिया, साउदी अरेबिया, कतार, ओमानलगायतका देशमा गएका नेपाली कामदारले कमाएको रेमिट्यान्स रकम बचत गर्ने र बचत भएको रकम उत्पादनमूलक क्षेत्रमा लगाई पुँजी निर्माण गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले २०६७ सालदेखि वैदेशिक रोजगार बचतपत्र विक्री सुरु गरेको हो ।

विगतमा १ अर्ब रुपैयाँको आह्वान गर्दा करोड रुपैयाँको मात्र  विक्री भएको थियोे । यसले वैदेशिक रोजगार बचतपत्रमा लगानीका लागि कामदार इच्छुक छैनन् भन्ने प्रस्ट भएको छ ।

अर्थविद् सतिश आचार्यले स्रोत मुलुकमै गएर वैदेशिक रोजगार बचतपत्रमा गरिने लगानी र त्यसबाट प्राप्त हुने लाभका बारेमा प्रचार गरी कामदारको ध्यानाकर्षण गर्न नसकेसम्म वैदेशिक रोजगार बचतपत्र विक्री औपचारिक सरकारी कार्यक्रममा सीमित हुने भएकाले कामदारका बीच अभियानकै रूपमा बचतपत्रमा हुने लगानीको लाभका बारेमा बुझाउन नसकिएको बताउँदै आएका छन् । 

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याज दर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी व्याज दर तोकी  वैदेशिक रोजगार बचतपत्र जारी गर्ने गरेको छ ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिने भए पनि विगत वर्षदेखि नै वैदेशिक रोजगार बचतपत्रमा अपेक्षित लगानी हुन सकेको देखिँदैन ।

ताजा खबर

सम्बन्धित खबर