२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

चैनखोला झोलुङ्गे पुल सञ्चालनमा

प्रेमराज कार्की
२०८१ कार्तिक १६ गते १८:२५
चैनखोला झोलुङ्गे पुल सञ्चालनमा

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा अवस्थित चैन खोलामा नवनिर्मित झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ  । कूल १ सय ४७ मिटर लम्बाइ भएको झोलुङ्गे पुल विधिवतरुपमा शुक्रबार उद्घाटन गरी सञ्चालनमा ल्याइएकोे हो । 

छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको हो । मुगु जिल्लाकै लामो रहेको चैनखोला झोलुङ्गे पुलको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जित बहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्तरुपमा गरेका हुन भने शिला उद्घाटन छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले गरेका छन् ।

चैन खोलामा झोलुङ्गे पुल निर्माण भएसँगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउन जाने र छायाँनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुलगायत स्थानीयलाई सहज हुनुका साथै बालबालिकालाई विद्यालय पुग्न सहज हुने छायाँनाथ रारा नगरपालिकाका प्रमुख भामले बताए । यो पुल छायाँनाथ रारा नगरपालिका १ वडादेखि ७ वडासम्मका नागरिक र जुम्ला जानेहरुका लागि अझ सहज हुने भएको छ ।

गत १०८१ साल वैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको कर्णाली इन्फास्ट्कचर डिभलोमेन्ट सर्भिस प्रा.लि.ले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो । तर पुल निर्माण सम्पन्न हुने मितिअगावै करिब २ महिनाभित्रै पुल निर्माण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

चैनखोला झोलुङ्गे पुल उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, नगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्लाका विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।चैनखोला झोलुङ्गे पुलमा सीसी क्यामारा, सडक बत्तीसँगै पुलको वारिपारि राष्ट्रिय झण्डा गाडिएसँगै थप रौनक थपिएको छ ।

ADV

सम्बन्धित खबर